चन्द्र पन्दाक
ताप्लेजुङ, असार १३ गते। ताप्लेजुङमा वन प्रवद्र्धन तथा ज्ञान प्रवर्द्धन सूचना प्रणाली तालिम सुरु गरिएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घको आयोजनामा सदरमुकाम फुङ्लिङमा तीन दिने सूचना प्रणाली तालिम सुरु भएको हो।
सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध पदाधिकारी तथा सदस्य, वन संरक्षण निकायका कर्मचारीलाई लक्षित गरी तालिम आयोजना गरिएको हो। डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा आयोजना गरिएको तालिममा लक्षित पक्षका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
वन प्रवद्र्धन सूचना प्रणाली र ज्ञान प्रवद्र्धन सूचना प्रणालीसम्बन्धी शिक्षा तथा प्रशिक्षण प्रदान गर्नेगरी तालिम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ, जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो। अध्यक्ष ओझाका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, वन संरक्षण निकायतर्फ डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि तालिममा सहभागी हुनुभएको छ।
तालिममा वन प्रवद्र्धन तथा ज्ञान प्रवद्र्धन सूचना प्रणालीअन्तर्गत जिपिएस इसेन्सियल, ल्याण्ड क्याल्कुलेटर एप्सबारे जानकारी दिने, उक्त एप्समार्फत लोकेसन (स्थान) पत्ता लगाउने, जग्गाको सीमाङ्कन र क्षेत्रफल पत्ता लगाउनेजस्ता विषय सिकाइने छ। ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिमको सहजीकरण वन विषयका विज्ञ शिशु झा र गुलावकुमार चौधरीले गरी रहनुभएको छ। तालिम आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ।