काठमाडौं, असार १३ गते । समावेशी सञ्चार निर्माण एवम् मातृभाषा पत्रकारिता प्रवर्धनका लागि सरकार तथा सरोकारावाला संघ संस्था र मातृभाषीहरु स्वयम् लाग्नुपर्ने बताउनुभएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संयोजन-सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजना गरिएको ‘सञ्चार माध्यममा पत्रकारिताको अवस्था र चुनौती' विषयक परामर्श कार्यक्रममा उहाँहरुले मातृभाषामा पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा परामर्श गर्नुभएको छ ।
नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफडिन) का उपाध्यक्ष रेशम गुरुङले मातृभाषा पत्रकारिता संकटमा रहेकाले प्रतिष्ठानले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । आगामी दिनमा पनि फोनिजसँग सहकार्य जारी रहने उहाँको भनाइ छ । यसैगरी आदिबासी जनजातीजन्य संघ संस्थाहरुसँग पनि प्रतिष्ठानको विभिन्न विषयमा सहकार्य जारी रहेको जानकारी दिनुभयो । मातृभाषा पत्रकारिता जनताको प्रतिनिधित्व गर्ने उहाँको भनाइ छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले ‘मातृभाषा पत्रकारिता र फोनिज’ शीर्षकमा प्रस्तुतीकरण राख्नुभयो । अध्यक्ष चौधरीले मातृभाषा पत्रकारिता भाषिक अधिकारको सवाल मात्र नभइ सूचनाको समान पहुँचको लागि पनि आवश्यक रहेको बताउनुभयो ।
उहाँले भाषिक र सांस्कृतिक चेतना वृद्धि, सरल र प्रभावकारी सञ्चार, समावेशी लोकतन्त्र निर्माण, परम्परागत ज्ञान पुस्तान्तरणका लागि मातृभाषा पत्रकारिताको आवश्यक रहेको भन्नुहुँदै मातृभाषीको रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि फोनिजले ‘एक घर एक पत्रकार’ लगायत विभिन्न अभियान निरन्तररुपमा सञ्चालन गर्दैआएको उहाँको भनाइ छ ।
गोरखापत्र दैनिकको नयाँ नेपाल पृष्ठका संयोजक एवम् नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले गोरखापत्रमा मातृभाषा पत्रकारिता सम्बन्धमा इतिहासहितको प्रस्तुतीकरण राख्नुभयो । उहाँले लामो समयको भाषिक आन्दोलन पश्चात् नेपालको संविधान अनुसार गोरखापत्र समावेशी संरचनामा लानुपर्ने अवधारणाअनुरुप हाल ४६ भाषामा समाचार प्रकाशन हुँदैआएको बताउनुभयो । उहाँले गोरखापत्रले वर्षमा दुई वटा भाषाबाट थप समाचार प्रकाशन गर्ने नीतिअनुरुप आफूहरु अघि बढेको भनाइ राख्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका प्रमुख पुष्पहरि क्याम्पराईले ‘मातृभाषा पत्रकारिता अवस्था र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै विविधता र समावेशीताका लागि मातृभाषामा पत्रकारिता आवश्यक रहेको बताउनुभयो । उहाँले ऐनले व्यवस्था गरेअनुरुप राष्ट्रिय हित र एकता, सहिष्णुता, समावेशीता र सीमान्तकृत समुदाय, संस्कृति र सम्पदा, सार्वजनिक सरोकार र सचेतनाका लागि मातृभाषा पत्रकारिताले टेवा पुर्याउने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले ‘रेडियो नेपालको प्रसारणमा आदिवासी जनजातिले बोल्ने राष्ट्रभाषा (मातृभाषा) का समाचार तथा कार्यक्रमहरु’ विषयक जानकारी दिनुभयो । उहाँले रेडियो नेपालबाट २६ भाषामा कार्यक्रम प्रसारण भइरहेको भन्नुहुँदै विविध भाषामा कार्यक्रम सञ्चालनका क्रममा चुनौती रहेको भनाइ राख्नुभयो ।
उहाँले मातृभाषामा कार्यक्रम प्रसारणका लागि दक्ष जनशक्तिको अभाव, समय व्यवस्थापनमा कठिनाइ, स्थायित्वको अनिश्चतता, उत्प्रेरणाको कमी लगायतका समस्या हुने गरेको बताउनुभयो ।
फोनिजका पूर्व अध्यक्ष डण्ड गुरुङले मातृभाषा पत्रकारिताका लागि मातृभाषी पत्रकारहरु थप सक्रियरुपमा अघि बढ्नुपर्ने बताउनुभयो । यसैगरी, फोनिजका निवर्तमान अध्यक्ष गजुरधन राईले समावेशी सञ्चार माध्यमलाई सशक्त बनाउनुपर्ने भन्नुहुँदै यसलाई मूल प्रवाहिकरण गर्नुपर्ने बताउनुभयो ।
गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक पुस्करभक्त माथेमाले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी राख्नुहुँदै विगतमा भाषा आन्दोलन अघि बढेकोले मातृभाषामा पत्रकारिताको अवस्था आजको दिनमा पुगेको बताउनुभयो । उहाँले मातृभाषामा भएका पत्रकारिताले पारेका प्रभाव र यसको मुल्याङ्कनका पक्षमा पनि जोड दिनुपर्ने भनाइ राख्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिका सदस्य अनिता गुरुङले पिएसबीमार्फत अरु थप भाषामा समाचार तथा कार्यक्रम प्रसारण गर्दै लाने विषय सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले पछिल्लो समय चेपाङ समुदायबाट समाचार प्रसारण भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा फोनिजका पूर्व अध्यक्ष गजुरधन राई, गोरखापत्र बहुभाषिक पृष्ठ समितिका संयोजक अब्दुल सलाम, दिवस राई, अवधि भाषाका संयोजक विक्रम त्रिपाठी, वरिष्ठ सञ्चारकर्मी धिरेन्द्र प्रेमर्सी, पत्रकार बद्री गुरुङ लगायतले कार्यपत्रमाथि सुझाव दिनुभएको थियो ।
नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले सहजीकरण गर्नुभएको कार्यक्रममा गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठका संयोजक तथा प्रतिनिधिहरु, सार्वजनिक सेवा प्रसारण नेपालका भाषाभाषी प्रतिनिधिहरु, रेडियो नेपाल र राससमा भाषा पृष्ठ र कार्यक्रम उत्पादनमा कार्यरत प्रतिनिधिहरु, फोनिजका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जातीय पत्रकार संघका पदाधिकारी तथा सदस्यहरु, आदिबासी जनजाति संघ संस्थाका प्रतिनिधिसहित एकसय बढीको सक्रिय सहभागिता रहेको थियो ।