फडिन्द्र अधिकारी
लेखनाथ, असार १३ गते । कास्कीको पोखरा महानगरपालिका –२२ पुम्दीभुम्दीमा टिप्परको ठक्करले स्कुटर चालकको ज्यान गएको छ । शुक्रबार दिउँसो पुम्दीभुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जाको फेदीखोला गाउँपालिकाको सर्केटारी बस्ने वर्ष ४२ की मिना क्षेत्री गम्भीर घाइते हुनु भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
क्षेत्रीको अस्पताल लगिएको केही समयपछि उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । दिउँसो साढे १२ बजे पोखराको छोरेपाटनबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक क्षेत्री गम्भीर घाइते हुनु भएको थियो ।
टिप्पर चालक र टिप्परलाई प्रहरीले लिइएको र घटनाबारे अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिनुभयो ।