शालिग्राम नेपाल
चितवन, असार १४ गते । माध्यमिक शिक्षा परीक्षा एसइईमा चितवनबाट ३७ जनाले ४ जिपिए अङ्क प्राप्त गरेका छन् । गत वर्ष १६ जनाले चार जिपिए ल्याएको जिल्लामा अहिले वृद्धि भएर ३७ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ चितवनका परीक्षा शाखाका प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यालयका अनुसार यस वर्ष चितवनमा ७३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।
यस वर्ष प्राविधिक तर्फ ८४ जनासहित सात हजार ८८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले चार जिपिए अङ्क प्राप्त गरेका छन् । यी सबै साधारण तर्फका विद्यार्थी हुन् । सबैभन्दा धेरै नारायणी नमूना माविका सात जनाले चार जिपिए ल्याएको परीक्षा शाखाका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
नतिजा अनुसार ३.६ देखि चार जिपिए मुनी दुई हजार ५५, ३.२ देखि ३.६ जिपिएसम्म दुई हजार ३३८ जना, २.८ देखि ३.२ जिपिएसम्ममा दुई हजार १९८ जना, २.४ देखि २.८ सम्म एक हजार १७३ जना, २ देखि २.४ सम्म ८५ जना, १.६ देखि २ जिपिएसम्म मात्र एक जना उत्तीर्ण भएको अधिकारीले बताउनुभयो ।
यस्तै दुई हजार ८४३ जना विद्यार्थी ग्रेडमा समावेश हुन असफल भएका छन् । चितवनमा २३५ विद्यालय परीक्षामा सहभागी भएको थियो । परीक्षाफलको सम्पूर्ण विवरण कार्यालयले शनिबार साँझ विश्लेषणसहित प्रकाशित गर्ने तयारी गरेको छ ।