गुल्मी, असार १४ गते । गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ ।
धुर्कोट गाउँपालिका-७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते हुनुभएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताउनुभयो । “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,” उहाँले भन्नुभयो । रासस