तेहरान, असार १४ गते । इरानले शनिबार राजधानी तेहरानमा इजरायलसँगको १२ दिन लामो युद्धमा मारिएका करिब ६० जनालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्न सुरु गरेको छ । मृतकमध्ये उच्च सैनिक अधिकारीदेखि वैज्ञानिक, महिला र बालबालिकासम्म रहेका छन् ।
राजधानीको एङ्गेलाब चोकमा बिहान ८ बजेबाट सुरु भएको राष्ट्रिय श्रद्धाञ्जली समारोहमा हजारौं सर्वसाधारणले शान्तिपूर्ण रूपमा भाग लिँदै राष्ट्रिय झण्डा र शहीदहरूको तस्बिर बोकेर सम्मान प्रकट गरेका थिए । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, सो युद्धमा इरानी पक्षबाट ६२७ जना सर्वसाधारणको मृत्यु भएको छ भने इरानको आक्रमणबाट २८ जना इजरायली नागरिकको ज्यान गएको इजरायली पक्षले जनाएको छ ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतोल्लाह खामेनेईप्रति सार्वजनिक रूपमा व्यक्त गरेका भनाइहरूलाई लिएर इरानले तीव्र आपत्ति जनाएको छ । इरानी परराष्ट्र मन्त्री अब्बास अराघचीले पारस्परिक सम्मान नभएसम्म कुनै पनि कूटनीतिक संवाद सम्भव नहुने स्पष्ट पार्नुभयो ।
श्रद्धाञ्जली दिइएका प्रमुख व्यक्तिहरूमा मेजर जनरल मोहम्मद बाघेरी, वैज्ञानिक डा.मोहम्मद मेहदी तेहरान्ची र कमाण्डर होसैन सलामी रहेका छन्, जसका परिवारका सदस्यसमेत आक्रमणमा मारिएका थिए । इरानले युद्धविरामपछि वार्ताको सम्भावना नकार्दै आफ्नो क्षमतामा गम्भीर क्षति नभएको बताएको छ भने इजरायलले विश्व समुदायलाई इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न आह्वान गरेको छ ।
दुवै मुलुकले युद्धपछि आफूलाई विजेता घोषणा गरे पनि कूटनीतिक तिक्तता अझै कायमै देखिएको छ । यस्ता परिस्थितिमा, दीर्घकालीन शान्ति र स्थायीत्वका लागि संयमता, सहमति र सम्मानजनक संवाद अनिवार्य देखिन्छ । रासस/एएफपी