काठमाडौँ, असार १४ गते। गायिका निर्मला घिसिङले तामाङ भाषा र नेपाली भाषामा रहेको ‘जालमाया’ बोलको गीत सार्वजनिक गर्नुभएको छ। करिब दुई दशक अघि रेकर्ड गरिएको गीतको नयाँ भर्जनलाई गायिका घिसिङले भिडियोसहित आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो।
सन्तलाल घिसिङको शब्द, कुबेर दोङको सङ्गीतमा रहेको गीतको नयाँ संस्करणलाई पवन वाङ लामाले सङ्गीत संयोजन गर्नुभएको छ। गायक अमृत लामा र स्वर्गीय गायिका योगिता मोक्तानको स्वर रहेको गीतको नयाँ संस्करणमा गायिका घिसिङलाई गायक रमण थामिले साथ दिनुभएको छ।
रसुवा र धादिङको सिमाना आसपासको सुन्दर प्राकृतिक स्थलमा छायांकन गरिएको गीतलाई रोशन फ्युबाले निर्देशन गर्नुभएको छ भने रन्जिता सेन्देन र सोनाम तामाङको अभिनयलाई प्रतीक ङ्यासुरले कोरियोग्राफी गर्नुभएको छ।
तामाङ भाषा र नेपाली भाषा दुवैलाई संयोजन गरेर तयार गरिएको नयाँ संस्करणमा साहित्यकार राबतको सायरीद्वारा भिडियोको सुरुवात गरिएको छ।
करिब दुई दशकदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा क्रियाशील गायिका घिसिङ होई च्याङ्बा, काँ होला च्यांबाको दरबन्दी, जुवा त खेल्ने चौकामा, कस्ले बनायो दाजै उडी जाने बस लगायत दर्जनौँ लोकप्रिय गीत गाइसक्नु भएको छ।
केही समय अघि अमेरिकाको विभिन्न राज्यहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएर नेपाल फर्किए लगतै गायिका घिसिङले जालमायाको नयाँ संस्करणलाई सार्वजनिक गर्नुभएको हो।