• २३ वैशाख २०८१, आइतबार

मुक्तिनाथ केबलकार

लगानी सम्मेलनमा सम्झौताको तयारी

blog

काठमाडौँ, पुस २७ गते । मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै अद्यावधिक गरिएको डिपिआर बुझाएपछि बोर्ड र मुक्तिनाथ दर्शनबिच आयोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुलेको जनाएको छ । 

मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुण सुवेदीका अनुसार यसअघि मुक्तिनाथले २०७७ मङ्सिर १५ गते बोर्डलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । उहाँले भन्नुभयो, “यसअघि बोर्डलाई बुझाइएको डिपिआरका आधारमा मन्त्रीपरिषद्को निर्णयबाट इआइएको अनुमति मिलेको थियो । डिपिआर र इआइएको समय लामो भएकाले अहिले पुनः डिपिआरलाई अद्यावधिक गरेर बोर्डसमक्ष बुझाएका छौँ ।” 

बोर्डले अद्यावधिक डिपिआर अध्ययन गरी पिआइए सम्झौता हुने र त्यसपछि आयोजना कार्यान्वयनको बाटो खुल्ने उहाँले बताउनुभयो ।

५५ अर्ब १८ करोड रुपियाँ लागतमा निर्माण हुने यो परियोजना अघि बढाउन बोर्डमा इआइए बुझाएको र बोर्डमार्फत वन तथा वातावरण मन्त्रालय हुँदै पुनः बोर्डको बैठकले प्रस्ताव स्वीकृत भए सरकारसँग आयोजना विकास सम्झौता हुने उहाँको भनाइ छ । आगामी लगानी सम्मेलनमा आयोजनाको अन्तिम सम्झौता हुने गरी काम अघि बढेको बताउँदै उहाँले इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्याक्ट र लगानी (इपिसिएफ) मोडलमा बन्ने यस परियोजनामा लगानी गर्न भारतको हैदरबादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडसँग यसअघि नै लगानीबारे सहमति भइसकेको जानकारी दिनुभयो ।

के एन्ड आरले केबलकार बनाउन भारतीय मुद्रामा लगानी गर्ने प्रारम्भिक समझदारी भएको र मुक्तिनाथले प्रशासनिक र कानुनी प्रव्रिmया पूरा गरेपछि मूल्य निर्धारणका आधारमा पूर्ण सम्झौता हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो “पर्वतको मोदी गाउँपालिकाको सेराफाँटबाट सुरु हुने यस परियोजनामा समझदारी अनुसार कुल रकमको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपियाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने छ । दुई प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, सात प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने छ ।”

परियोजना सञ्चालनपछि गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि बढाउन, संसारको ध्यान नेपालतर्फ आकर्षित गर्न कोसेढुङ्गा साबित हुने बताउँदै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहयोग पुग्ने दाबी गर्नुभयो ।

मुक्तिनाथ दर्शन प्रालिका सचिव सुमित्रा पाण्डेले परियोजना शिलान्यास भएको मितिले बढीमा चार वर्षभित्र केबलकार निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनालाई आवश्यक पर्ने ९० प्रतिशत जग्गा खरिद प्रव्रिmया भइसकेको र आयोजना स्थलमा कटान हुने रुख गणना सकिएको छ ।”

कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको सेराफाँटबाट सुरु भएर मुक्तिनाथ मन्दिरनेरको रानीपौवासम्म केबलकार सञ्चालन हुने उहाँले बताउनुभयो । 

आयोजनाले १७७.३८२ हेक्टर वन क्षेत्र प्रयोग गर्नेछ । ८१.०१४ किलोमिटर लामो हुने केबलकार विश्वकै लामो हुने दाबी गरिएको छ । यसका १९ वटा स्टेसनमध्ये छ वटा स्टेसनमा अनिवार्य ओर्लिनुपर्ने, नौ वटा स्टेसनमा चढ्न र ओर्लिन पाइने र अन्य स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुने छ । केबलकारमा ७७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ । 

परियोजना एक हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्ने र वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । यो परियोजना सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुने छ । 

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।