• २० वैशाख २०८१, बिहिबार

जाडोमा फेसनको ट्रेन्ड

blog

काठमाडौँ, पुस २४ गते  । फेसनका पारखीबिच जाडोमा लङ कोट र उलन वानपिस निकै रुचाइने गरेको छ । हरेक मौसममा फेसन गर्नेहरूको सङ्ख्या बढेको फेसन डिजाइनरहरूको अनुभव छ । अहिले हरेक व्यक्ति फेसनप्रति निकै चासो राख्ने गर्छन् । हरेकले युनिक र स्मार्ट देखिन खोज्छन् । 

यसपालिको जाडोमा लङ कोट र लङ ड्रेसको माग बढेको व्यापारी कोपिला महर्जन बताउनुहुन्छ । उहाँका अनुसार उलन वानपिस निकै रुचाइएको लुगा हो । उलनबाट तयार पारिएका ड्रेस यस पटकको जाडो मौसममा हरेकको रोजाइमा पर्न सफल भएको छ । सहरिया युवतीको रोजाइमा पर्न सफल भएको उलन वानपिस थरी थरीका डिजाइनमा उपलब्ध रहेको महर्जनको भनाइ छ । यस्तै लेदर ज्याकेट र उलन टिसर्ट पनि रोजाइमा नै रहेको उहाँले जानकारी दिनुभयो । 

हरेक मौसममा स्मार्ट र युनिक देखिन चाहनेका लागि स्कर्ट, स्वेटर्स फेसनेबल रोजाइ हुने गरेको पाइन्छ, फेसन डिजाइनर उमा नेम्कुलले बताउनुभयो । उलन स्वेटर महिला, पुरुष दुवैको रोजाइमा पर्छ । यो स्वेटर ‘फिटिङ’ भन्दा पनि ठुलो साइजको लगाउने फेसन छ । युवा पुस्ता उलनको स्वेटरप्रति निकै आकर्षित रहेको नेम्कुल बताउनुहुन्छ । 

उलनको स्वेटरमा गला गोलाकार डिजाइनको हुने भएकाले घाँटीमा हल्का खालको स्कार्फ लगाउँदा स्मार्ट देखिने उहाँको अनुभव छ । “हरेक उमेर समूहका व्यक्तिलाई उलन स्वेटर, जिन्स पाइन्ट, स्कार्फ र बुट सुहाउँदो फेसन हुन सक्छ,” नेम्कुलले भन्नुभयो । उलन स्वेटरमा थरी थरीका प्रिन्टेड र फ्लोरल डिजाइनका स्वेटरको फेसन निकै चलेको देख्न सकिन्छ । यो पटकको जाडोमा उलन स्वेटरले निकै बजार जमाएको व्यवसायीको भनाइ छ । ज्याकेटभन्दा पनि स्वेटर सबैले मन पराएकाले स्वेटरको व्यापार अघिल्लो जाडो मौसमभन्दा यो पटक निकै सन्तोषजनक रहेको छ ।