• १० मंसिर २०८१, सोमबार

समाजको चित्र ‘डुङ्गा चिया घर’

blog

काठमाडौँ, पुस २२ गते  । एउटा कलाकारका लागि उसले देखेको, भोगेको र सुनेको कुरा नै सिर्जनाका स्रोत बन्ने गर्छन् । चित्रकार रवीन्द्र श्रेष्ठले डुङ्गामार्फत् समाजमा प्रत्यक्ष भोगेका अनुभव र देखिएका दृश्यलाई समेटेर समाजका अरू मान्छेसामु ल्याउने कोसिस गर्नुभएको छ । नेपालमा २०५२ सालदेखि चलेको माओवादी जनयुद्ध, रोल्पा रुकुमको दलित लाइभ म्याटर, जर्ज फ्लोइडको घटना, ब्लाक लाइभ म्याटर, रसिया–युक्रेनको चलिरहेको युद्ध उहाँका लागि राम्रा विषयवस्तु भएका छन् । रवीन्द्रको औँठाछाप सिरिज यही युद्ध–शान्ति, मानवीय संवेदना, एकतामाथि चल्दै आएका कलाका विषयवस्तु हुन्  । 

नागदहमा काम नलागेर बसेको डुङ्गालाई रवीन्द्रले पहिलो पटक माइतीघर मण्डलामा पब्लिक आर्टको रूपमा सन् २०२१ मा प्रदर्शनी गर्नुभयो । म्यान्मारमा सैनिक ‘कु’ पछिको घटनाक्रमलाई लिएर उक्त डुङ्गामा चित्रकला प्रदर्शनी गरिएको थियो । डुङ्गा एउटा संवाहकको प्रतीक हो । यसले एक ठाउँको कुरा अर्को ठाउँसम्म पु¥याइदिने अर्थात् समस्यालाई वारपार गरिदिने काम गर्छ ।  डुङ्गाभित्र टन्नै फूलहरू र एउटा औँठाछाप कला पनि राखिएको थियो । उहाँका अनुसार जसमा जीवन गुमेकाप्रति श्रद्धाञ्जली र युद्ध रोकियोस् र मेलमिलाप होस् भन्ने सन्देश थियो । 

यसपछि डुङ्गा माइतीघर मण्डलाको पब्लिक प्रदर्शनपछि नेपाल आर्ट काउन्सिलको ठुलो हलभित्र प्रदर्शनीमा राखिएको थियो । समयको बहावसँगै पछि डुङ्गा काउन्सिलको ग्यालरीबाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० नक्सालमा राखियो । प्रदर्शनीमा यसको शीर्षक थियो, ‘डुङ्गा चिया घर’ । डुङ्गा चिया घर भाषा, साहित्य र कला फ्युजन गरिएको एक कला भएको उहाँको दाबी छ । चियाको साथमा किताब पढ्ने, कुराकानी गर्ने, म्युजिक बजाउने, गीत गाउने, कविता वाचनदेखि जन्मदिन पनि मनाउने काम पनि भए । छ सयभन्दा बढी विविध कलाकृति प्रदर्शित यस राष्ट्रिय प्रदर्शनीमा डुङ्गा चिया घर एक हिसाबमा ‘सेन्टर आर्ट पिस’ नै बनेको थियो । 

यसपछि अक्टोबर २०२३ मा निसान गाडीमा सो डुङ्गा धुलिखेलको भट्टीडाँडामा पुग्यो । भट्टीडाँडा चउरको छेउमा डुङ्गा राखिएको छ । त्यसभित्र टेबल छ, जसमा केही पुस्तक, एउटा सानो गितार, पत्रपत्रिका र चिया पिउने गिलासलगायतका कुरा राखिएका छन् । डुङ्गाभित्र जान केही प्रवेश शुल्क नलाग्ने चित्रकार रवीन्द्र सुनाउनुहुन्छ । मैले डु्ङ्गा तीन ठाउँमा राखेँ अहिले यहाँ ल्याएको छु । मेरो उद्देश्य मान्छेसँग पैसा असुल्नुभन्दा पनि डुङ्गाबारे उहाँहरूले कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्ने हो । धुलिखेल घुम्न आउने पर्यटकले डुङ्गा देखेर अचम्मित मानेर दिएको प्रतिक्रियाले मलाई प्रभावित बनाउँछ, उहाँले भन्नुभयो । 

त्यही गाउँमा बसोबास गर्ने एउटा गाउँले भन्दै हुनुहुन्थ्यो, यस्तो डुङ्गा यहाँ कसले र कसरी ल्याएको हो, जसमा न खोला, नदी, न पोखरी छ । स्थानीयवासीले बिहानै आफ्नै घरआँगनमा अजङ्गको डुङ्गा देख्दा अचम्म परेको रवीन्द्र बताउनुहुन्छ । रमाइलोका लागि डुङ्गामा बस्ने, मिल्यो भने त्यहाँ राखिएका पुस्तक उठाएर लिएर जाने गरेको पनि उहाँले बताउनुभयो । 

पर्यटक यसमा आकर्षित हुन थालेपछि रवीन्द्र अब डुङ्गा थप्ने सोचमा हुनुहुन्छ । अझ तीन/चार वटा डुङ्गा खोजेर यसैभित्र सबै कुरा उपलब्ध गराउने र ‘डुङ्गा चिया घर’ बनाउने उहाँको योजना रहेको छ ।