• १२ साउन २०८१, शनिबार

सन् २०२३ : कलाकारले जगाएको वर्ष

blog

काठमाडौँ, पुस १५ गते । सन् २०२३ मा धेरै बलिउड कलाकारले आफ्नो पेसामा पुनरागमन गरे र कतिपय ठुलो पर्दामा आफ्नो प्रभुत्व जमाउन सफल पनि भए । कतिपय चलचित्रले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढीको व्यापार गरे भने केही बक्स अफिसमा मात्र सीमित रहे । यो वर्ष बलिउड कलाकारका लागि निकै विशेष रह्यो । कोरोना महामारीपछि बलिउड चलचित्रले बक्स अफिसमा औसत व्यापार गरिरहेका थिए तर सन् २०२३ को सुरुवातसँगै केही कलाकार यसरी जुर्मुराउँदै आए कि उनीहरूले कोरोनाकालको खडेरी पूर्ण रूपमा समाप्त गरिदिए । 

सन् २०१८ को चलचित्र जिरोपछि दर्शकहरू शाहरुख खानलाई ठुलो पर्दामा हेर्न उत्सुक थिए । त्यसपछि २०२३ मा किङ खान ‘पठान’ चलचित्रमार्फत फेरि यस क्षेत्रमा देखा परे र चलचित्रले राम्रो व्यापार गर्‍यो । यसपछि चलचित्र जवानले पनि शाहरुखलाई झन् माथि उठायो । उनको एक्सनले पनि धेरै दर्शकलाई प्रभावित बनायो । शाहरुख यस वर्षका पहिलो अभिनेता हुन्, जसले राम्रा सुपरहिट चलचित्र दिएका छन् । हालै उनी अभिनीत चलचित्र ‘डङ्की’ ले पनि राम्रो व्यापार गरिरहेको छ । 

नायिका दीपिका पादुकोण दुई वर्षको अन्तरालपछि चलचित्र ‘पठान’ बाट ठुलो पर्दामा देखिएकी छिन् । यसअघि उनी चलचित्र ‘सर्कस’ मा देखिएकी थिइन् । पठानसँग दीपिका फेरि एक पटक पूर्ण रूपमा फर्किएकी छिन् । दीपिका चलचित्र जवानमा छोटो भूमिकामा देखिएकी थिइन् । जसले उनलाई राम्रो चर्चा दिलाएको थियो । श्रद्धा कपूर पछिल्लो पटक चलचित्र बागी ३ मा ठुलो पर्दामा देखिएकी हुन् । तीन वर्षपछि अभिनेतृ अन्ततः रणवीर कपूरसँग चलचित्र ‘तू झुठी मै मक्कार’ बाट ठुलो पर्दामा देखिइन् र उनले फेरि एक पटक आफ्नो वर्चस्व कायम गरिन् । 

सन् २०२३ सन्नी देओलका लागि निकै विशेष रह्यो । ‘गदर २’ बाट सन्नीले बक्स अफिसमा चर्चा बटुले । यद्यपि यसअघि उनले चुप २०२२ र ब्ल्याङ्क २०१९ मा काम गरिसकेका भए पनि उनले चलचित्र ‘गदर २’ बाट दर्शकबाट राम्रो प्रतिक्रिया बटुले । सन्नीका भाइ बबी देओेलका लागि पनि यो वर्ष उत्कृष्ट रह्यो । उनको चलचित्रमा पुनरागमन उत्कृष्ट थियो । चलचित्र ‘एनिमल’ बाट बबीले पुनरागमन गरे र दर्शकको मन जित्न सफल भए ।

त्यस्तै नयाँ वर्ष २०२४ मा पनि बलिउडमा राम्रा चलचित्रको दबदबा रहने छ । नयाँ वर्षमा धेरै कलाकार जो पहिलो पटक ठुलो पर्दामा एकअर्काको जोडीका रूपमा देखिँदै छन् । धेरै राम्रा चलचित्र हलमा प्रदर्शन हुने छन् । अभिनेतृ कट्रिना कैफ र विजय सेतुपतिको जोडीले नयाँ वर्षमा धमाका मच्याउने तयारी गरेको योजना सुनाइसकेका छन् ।  दुवै कलाकार निर्देशक श्रीराम राघवनको बहुप्रतिक्षित ‘मेरी क्रिसमस’ मा देखिँदै छन् । कट्रिना र विजय अभिनीत सस्पेन्स थ्रिलर चलचित्र जनवरी १२ मा हलमा प्रदर्शन हुने छ ।

ऋतिक रोशन र दीपिका पादुकोणको जोडीको नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्रको सूचीमा परेको छ । दुवै कलाकार निर्देशक सिद्धार्थ आनन्दको ‘फाइटर’ मा पहिलो पटक देखिँदै छन् । चलचित्रमा ऋतिक र दीपिकासँगै अभिनेता अनिल कपूरको पनि अभिनय रहेको छ । चलचित्र आगामी जनवरी २५ मा प्रदर्शन हुँदै छ । साउथ कलाकार जुनियर एनटिआरको चलचित्र ‘देवरा’ पनि नयाँ वर्षमा नै प्रदर्शनमा आउने भएको छ । चलचित्रमा एनटिआर बी टाउनकी अभिनेतृ जान्हवी कपूरसँग देखिने भएका छन् । यी दुई कलाकार जोडीका रूपमा चलचित्रमा अभिनय गरेको पहिलो पटक हो । चलचित्र अप्रिल ५ मा ठुलो पर्दामा  प्रदर्शन हुँदै छ । चलचित्रमा सैफ अली खानको पनि अभिनय रहने छ । 

सिद्धार्थ मल्होत्रा ​​लामो समय चलचित्रमा देखिएका थिएनन् । नयाँ वर्ष २०२४ मा भने उनी चलचित्र ‘योधा’ मार्फत ठुलो पर्दामा फर्किंदै छन् । निर्माता करण जोहरको चलचित्रमा सिद्धार्थ मल्होत्रा ​​पहिलो पटक अभिनेतृ राशि खन्ना र दिशा पटानीसँग सँगै अभिनय गर्दै छन् । त्यस्तै ‘सालार’ पछि साउथ अभिनेता प्रभासको चलचित्र प्रोजेक्ट अर्थात् ‘क्लकी २८९८’ आउने भएको छ । चलचित्रमा उनले पहिलो पटक अभिनेतृ दीपिका पादुकोणसँग स्क्रिन सेयर गर्दै छन् ।