• ७ जेठ २०८१, सोमबार

६१ उद्योगले तिरेनन् २२ अर्ब बक्यौता : लुम्बिनी प्रदेशमा सबैभन्दा बढी

blog

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । फाइल तस्बिर

काठमाडौं, पुस १३ गते। डेडिकेटेड र ट्रंक लाइन विद्युत उपयोग गर्ने ६१ वटा उद्योगको बक्यौता २२ अर्ब रहेको खुलेको छ। नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० मंसिर मसान्तसम्म ६१ उद्योगको बक्यौता २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२० रुपियाँ रहेको छ। 

प्राधिकरणले अहिलेसम्म नौ वटा उद्योगको लाइन काटिसकेको छ। १२ अर्ब ५० करोड रुपियाँ लाइन काटिएका उद्योगकै बक्यौता छ। अन्य उद्योगको लाइन विस्तारै काट्दै जाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले जानकारी दिनुभयो। 

सबैभन्दा बढी लुम्बिनी प्रदेशका उद्योगमा बक्यौता रहेको प्राधिकरणले जनाएको छ। जहाँ सात अर्ब आठ करोड बराबरको बक्यौता छ। 

कुन प्रदेशको बक्यौता कति ? 

कोशी प्रदेशको बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट, रिलायन्स स्पिनिंग मिल्स, निगले सिमेन्ट, अरिहन्त मन्टीफाइबर र हरिअन्त पोलिप्या गरेर सात वटा उद्योगको दुई अर्ब बक्यौता छ। 

मधेश प्रादेशिक कार्यालय, जनकपुर अन्तर्गतका मारुती सिमेन्ट, डावर नेपाल, त्रिवेणी सिन्थेटिक यार्न इण्डट्रीज, हिमाल आइरन एण्ड स्टील, त्रिवेणी रुपेनिङ्ग मिल्स, नारायणी स्पात मिल्स, जगदम्बा स्वील, जगदम्बा इन्टर प्राइजेज, अशोक स्टिल, हुलास स्टील, हामा आइरन, सूर्य नेपाल, एभरेष्ट पेपर मिल र कसमस सिमेन्ट गरेर १४ वटा उद्योगको बक्यौता नौ अर्ब ५४ करोड बाँकी छ। 

देशको राजधानीसमेत रहेको बागमती प्रादेशिकका तीन उद्योगको बक्यौता मात्र दुई अर्ब ६३ करोड छ। बागमती प्रदेशमा युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट र हेटौँडा सिमेन्टले बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले सार्वजनिक गरेको हो। 

सबैभन्दा बढी लुम्बिनी प्रदेशको बक्यौता 

प्राधिकरणका अनुसार सबैभन्दा बढी बक्यौता रकम लुम्बिनी प्रदेशका उद्योगको देखिएको छ। लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल अन्तर्गतका नेपाल टेलिकम, जिबी टेक्सटाइल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट, एभरेष्ट रेलिंग मिल, सोना पोलिमर्स, विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स सिद्धार्थ पेटप्लास्ट, सोना प्याकेजिङ्ग, गोयन्का फुड्स, भलवारी स्वचालित कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील, एस आर स्टील, नव नेपाल प्लाष्टिक, शुभलक्ष्मी पोलिमर्स, नेशनल रबर ईण्डस्ट्रीज, जयदुर्गा प्लाष्टिक इण्डस्ट्रिज, यशोधा फुड, ए.जी हेल्थ इण्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, सिद्धीलक्ष्मी स्टिल र लक्ष्मी स्टिल गरी ३१ उद्योगले बक्यौता तिर्न बाँकी रहेको खुलेको छ। 

त्यसैगरी लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज अन्तर्गतका सूप हवाई कार्यालय, सोनापुर मिनरल एण्ड आयल, घोराही सिमेन्ट, सम्राट सिमेन्ट र रोल्पा सिमेन्टले कुल सात अर्ब आठ करोड ७४ लाख बक्यौता रहेको छ। यीमध्ये नारायण स्पात मिल्स, जगदम्बा इन्टर प्राइजेज र सिद्धी लक्ष्मी स्टिल लोडसेडिङ् पछि ट्रंक लाइनमा जोडिएका हुन्। यी उद्योगको एक अर्ब ३१ करोड बराबरको बक्यौता छ। 

उच्च अदालतको आदेशपछि ६ उद्योगको लाइन काटिएन

उच्च अदालतको अन्तरकालीन आदेशपछि डेडिकेडिट र ट्रंक लाइन जडान भएका छ उद्योगको लाइन काटिएको छैन। लाइन नकाटिएका कोशी प्रादेशिक कार्यालय विराटनगर अन्तर्गतका रघुपति जुट मिल, अरिहन्त मल्टिफाइबर, अरिहन्त पोलीप्याक, मारुती सिमेन्ट, युनाइटेड सिमेन्ट र शिवम् सिमेन्टको चार अर्ब रुपियाँ बढीको बक्यौता बाँकी छ। 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।