• १२ साउन २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिमाथि चरम लापरबाही–२

पिसाबको आहालमै बस्नुपर्ने बाध्यता

blog

धर्नामा बसेका केन्द्र आश्रित अपाङ्गता भएका व्यक्ति ।

काठमाडौँ, पुस ४ गते । खोटाङकी ३६ वर्षीया पुना राई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित हुनुहुन्छ । उहाँको शरीर चल्दैन । उठ्न बस्न पनि सहारा चाहिन्छ । 

केन्द्रमै बस्ने पाल्पाका ३६ वर्षीय कृष्ण खड्काको पनि व्यथा उस्तै छ । हिँडडुल गर्नु त टाढाको कुरा उहाँको शारीरिक अवस्थाले पूरै ओछ्यान पर्नु परेको छ । केन्द्रका अहिले सञ्चालनमा रहेका १९ वटा कोठामध्ये पाँच वटा कोठामा खड्का र राई जस्तै अति अशक्तलाई राखिएको छ । 

केन्द्रमा ४५ जना अति अशक्त र अपाङ्गता भएका व्यक्ति छन् । त्यस्ता व्यक्तिलाई एउटा कोठामा चारदेखि नौ जनासम्म राखिएको छ । यसरी अति अशक्त बस्ने कोठामा बाहिरबाट गएका कोही पनि पस्न सक्दैनन् । कोठा डुङ्डुङ्ती गनाएका छन् । सरसफाइमा चरम लापरबाही छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीसहितका व्यक्ति बस्ने कोठा केही सफा छन् ।

अधिवक्ता एवं अपाङ्गता अधिकारकर्मी विदुरकुमार थापाले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा राजनीति र आर्थिक चलखेलका घटनाले प्रश्रय पाएपछि संस्थाको दूरवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा आवासीय रूपमा बसोबास गर्ने दिदीबहिनी दाजुभाइले भोगिरहेको हैरानीकै विषयमा आन्दोलन थालिएको हो, सङ्घलाई राजनीतिक गर्ने थलोको रूपमा बदलेपछि हामी प्रतिवाद गर्न बाध्य भएका हौँ ।”

उहाँले केन्द्रको सम्पत्ति प्रयोग गरेर लाखौँ कमाउने र आर्थिक लाभ लिने उद्देश्यले विकृति भित्रिएको बताउँदै सरकारले नै हस्तक्षेप गरेर समस्याको निकास खोज्नुपर्ने निष्कर्ष सुनाउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका अति अशक्त अहिले दिसापिसाबको आहालमा बस्नुभएको छ, सङ्घका पदाधिकारीले बैठक भत्ता भन्दै बर्सेनि लाखौँ असुल्नुभएको छ, त्यसको हिसाब खोई ? अपाङ्गता भएकाले राम्रोमा बस्न नहुने हो ? हामीलाई आएको पैसा खोई ?”

तालाबन्दी खोल्न आएका मेयर लखेटिए

अपाङ्ग सङ्घर्ष समितिले आर्थिक पक्ष पारदर्शी हुनुपर्ने, केन्द्रको सम्पत्तिको दुरुपयोग रोक्नुपर्ने, विधानविपरीतका नियुक्ति रोक्नुपर्नेलगायतका माग राखेर केन्द्रको मुख्य कार्यालयमा तालाबन्दी गरेको छ । मङ्सिर ६ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालय र पीडित पक्षबिचको सहमति अनुसार १३ गतेभित्र माग सम्बोधन गर्न पदाधिकारी सहमत भएका थिए । तर आन्दोलन सुरु भएको एक महिना बित्दा पनि सरोकारवाला पक्ष गम्भीर बनेको छैन । 

गोरखापत्र दैनिकमा मङ्गलबार ‘अपाङ्गता भएका व्यक्तिमाथि चरम लापरबाही’ समाचार प्रकाशित भएपछि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल केन्द्रमा आन्दोलनरत पक्षले लगाएको ताला खोल्न पुग्नुभयो । उहाँसँगै केन्द्रमा आश्रित नरहेका अपाङ्गता भएका व्यक्ति पनि त्यहाँ पुगे । प्रहरी टोली लिएर केन्द्रमा पुगेका प्रमुख रिसालले ताला खोल्न दबाब दिएपछि सङ्घर्ष समितिको टोलीले नाराबाजी गरेको थियो । प्रहरीमार्फत दबाब दिए पनि ताला खोल्न असम्भव भएपछि प्रमुख रिसाल त्यहाँबाट बाहिरिनुभयो । 

उहाँले आन्दोलनरत पक्षसँग वार्ताको पहल गरे पनि सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नवजीवन केन्द्रलाई राम्रो बनाउनकै लागि बजेटको व्यवस्था गरेको छु । नेपाल अर्थोपेडिक अस्पताललाई पनि बजेट दिएको छु । मेरो चाहना केन्द्रलाई राम्रो बनाउने नै हो । र, आन्दोलनरत साथीहरूले यो कुरा बुझिदिनु पर्छ ।” सङ्घर्ष समितिका सदस्य पुष्पराज भट्टले जबरजस्ती ताला खोल्ने प्रयास नगर्न चेतावनी दिनुभयो । उहाँले समितिको माग सम्बोधन हुने र गलत क्रियाकलाप रोकिए आफूहरू ताला खोल्न तयार हुने बताउनुभयो ।  सङ्घका अध्यक्ष साम्देन लामाले आन्दोलनरत पक्षको माग तार्किक नरहेको दाबी गर्दै सङ्घको निर्वाचनपछि आफूमाथि घेराबन्दी भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामी काम गर्छौं नि, काम गर्न दिनु पर्दैन ?”