टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक ६ गते । सडक सुविधा पुगेपछि चन्द्रकोट गाउँपालिका–४ को शान्तिपुर बजारबाट करिव ४५ मिनेट टिमुरे ताल आउँछ । अग्लो पहाडको टुप्पोमा बनेको निकै सुन्दर र रमणीय प्राकृतिक ताल आफैँमा उत्कृष्ट छ । त्यो बाहेक टिमुरे क्षेत्रबाट उत्तरका मनमोहक हिमश्रृङखला, पूर्वको सूर्योदर, पश्चिमको सूर्यअस्त, चारैतिरका डाँडाकाँडा र काखमा बसेको शान्तिपुर बजारका दृश्य निकै लोभलाग्दा छन् । मौसम खुलेर सफा भएकाले टिमुरेको यात्रा निकै फलदायी छ ।
यो गुल्मीकै आकर्षक पर्यटकीय गन्तव्य हो । यसको प्राकृतिक बिचित्रताको बयान गरेर सकिँदैन् । यो ताल एक हजार सात सय ५० मिटर उचाइमा अवस्थित छ । झण्डै चार रोपनी क्षेत्रफलमा पैmलिएको ताल करिब तीन मिटर गहिरो छ । जतिसुकै सुख्खा समयमा पनि तालमा पानी रहन्छ । पर्यटकलाई थप आकर्षण गर्न पर्यटकीय क्षेत्र टिमुरे तालमा डुङ्गा सञ्चालन गरिए पनि निरन्तरता पाउन सकेन् । तर बाहिरको वातावरणनै पर्यटकका लागि निकै आनन्दको छ ।
चन्द्रकोटको प्रमुख पर्यटकीय क्षेत्र टिमुरे ताल र आसपाको क्षेत्र हो । तर पछिल्लो समय तालको पानी घट्दै गएपछि सरकारका तीनै तहको तर्फबाट प्राविधिक परीक्षण र संरक्षका लागि विभिन्न किसिमका कामहरु भइरहेको चन्द्रकोट गाउँपालिकाका प्रमुख युवराज केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ताल प्राकृतिक हो पानीको मात्रा घट्न थालेकाले सङ्घीय सरकारसँग विभिन्न पहल गरेका छौँ । पर्यटकीय विकासका लागि तालको नजिकै होमस्टे पनि सञ्चालन भएको छ ।”
शान्तिपुर बजारबाट केही उकालो निस्केपछि रेमी गाउँ पुगिन्छ । पर्यटकीय क्षेत्र टिमुरे र शान्तिपुर बजारको बिचमा रेमी गाउँ पर्छ । उत्तरमा सेता हिमाल । समथर रेमी गाउँमा टम्म परेको घरहरु छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ । चन्द्रकोट गाउँपालिका–४ को रेमी गाउँमा रानामगर, पुन, श्रीस र नेवार लगायतका करिब डेढ सय जनजाती समुदाय बस्दै आएका छन् । पर्यटक मनोरञ्जनकै लागि होमस्टे पुग्छन् । पर्यटकलाई खानपान, बसाई र कला संस्कृतिलेनै आकर्षित गर्ने हो । त्यसमा रेमी गाउँ अब्बल छ ।
रेमी गाउँमा सालैजो, सोरठी, सुनिमाया र यानीमाया प्रख्यात छन् । टिमुरेको नजिकको रेमी गाउँमा टिमुरको चट्नी, साँधेको अचार, मकै, भट्ट, फापर, कोदोको रोटी र लोकल कुखुराको रससँग रम्न पाइन्छ् । नजिकका शान्तिपुर बजार र टिमुरे तालका कारण होमस्टेको भविष्य राम्रो रहेको भए पनि निरन्तरतामा समस्या रहेको स्थानीय होमस्टे सञ्चालक गौकुमारी पुनले बताउनुभयो ।
प्राकृतिक रुपमा आर्कषक टिमुरे तालको नजिकै पर्ने भएकाले होमस्टेलाई जोडेर पर्यटकीय आर्कषण बढाउन गाउँपालिकाले होमस्टेका लागि विभिन्न खाले सहयोग गरिरहेको छ । जिल्लाका थुप्रै पर्यटकीय क्षेत्र नेताका भाषणमा मात्रै सिमित छन् । त्यस्ता क्षेत्रको समयमै संरक्षण, विकास र प्रचार प्रसार नहुँदा कैयौँ आन्दानी गुम्दै गएका छन् । प्रकृतिले निःशुल्क दिएका अनुपम उपहारहरुको सहि सदुपयोग गर्ने विषयमा पनि तीनै तहका सरकारसँग सोच र खोजको खडेरी छ । अहिले धेरै गाउँ र ठाउँ बसाइसराइँले सङ्कटमा छन् ।