• ६ कात्तिक २०८२, बिहिबार

बागलुङस्थित ज्ञानोदय बुद्ध बिहार दाताको सहयोगमा पुनर्निर्माण

blog

बागलुङ नगरपालिका–३ गुठीमा रहेको ज्ञानोदय बुद्ध बिहार । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, कात्तिक ६ गते ।
बागलुङ नगरपालिका वडा नं. ३ गुठीस्थित ज्ञानोदय बुद्व बिहार दाताहरुको सहयोगमा पुनर्निर्माण गरिएको छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्र बिहारलाई मौलिक शैलीमा पुननिर्माण गरेपछि चिरीचयाट्ट बनेको छ ।  

कामको खोजी गर्दै टक्सार छाप्न ललितपुरको पाटन र भक्तपुरबाट बागलुङ आएका शाक्य समुदायले २००७ सालमा बुद्व बिहारको जग बसालेका थिए । त्यतीबेला आफ्ना बाउबाजेले १० देखि २५ पैसा सङ्कलन गरेर बुद्ध बिहारको जग बसालेको बिहारका संरक्षक सदस्य मुकुन्द शाक्य स्मरण गर्नुहुन्छ । २००९ सालमा काठमाडौँबाट आउनुभएका वैद्य पद्मरत्न बज्राचार्यले ज्ञानोदय बुद्ध बिहारको नामाकरण गर्नुभएको थियो ।

बिहारमा बौद्ध धर्मालम्बी र भीक्षुहरुको आगमन बढ्न थालेपछि प्यागोडा शैलीको बिहारले २०३१ सालमा चैत्यको स्वरुप धारण गरेको थियो । २०५८ सालमा शाक्य समुदायले आफन्तको स्मृतिमा कसैले कोठा बनाइदिने त कसैले आर्थिक सहयोग गरेपछि झण्डै १६ लाखको लागतमा तीन कोठा र हलसहितको तीनतले चैत्य निर्माण गरिएको थियो ।

त्यसका लागि स्थानीय र काठमाडौँमा बसोबास गर्ने शाक्य समुदायले आफन्तको स्मृतिमा ८ लाख पाँच हजार रुपियाँ बराबरको कलात्मक अष्टमंगल ढोका, आँखीझ्याल, दाच्या इट्टा, बुद्वको प्रतिमा र बुद्वको मूर्ति उपलब्ध गराएको ज्ञानोदय बुद्ध बिहार व्यवस्थापन समितिका अध्यक्ष लिलम्बर बज्राचार्यले जानकारी दिनुभयो । ‘‘बिहार पुनर्निर्माणमा स्थानीय तहले खासै चासो नदिँदा आफ्नै बलबुताले हेर्नलायक बनाएका छौं’’ अध्यक्ष बज्राचार्यले भन्नुभयो ।

आफन्तको स्मृतिमा पोखरा निवासी टेक नारायण र रश्मी शाक्यले तीन लाख २३ हजार रुपियाँको अष्टमंगल ढोका, काठमाडौंकी रञ्जना बज्राचार्यले एक लाखको दुई थान आँखी झ्याल र राजकुमार राजभण्डारीले एक लाख दुई हजार रुपियाँको दाच्या इट्टा तथा निलिमा, निलु, सुमी, कुन्दन र इन्द्र शाक्यले बुद्वको प्रतिमा तथा लिलम्बर÷हिमाली बज्राचार्यले बौद्ध स्तुपा बिहार पुननिर्माणका लागि सहयोग गर्नुभएको हो ।

ललितपुरको पाटन निवासी मोतीलाल सिल्पकारले पाँच लाख रुपियाँ मूल्यको चार फिट अग्लो ढलोटको बुद्ध मूर्ति हस्तान्रण गर्नुभएको छ । ‘‘बिहार पुनर्निर्माण स्थानीयवासीको पनि ठुलो योगदान छ’’ बिहारका निवर्तमान अध्यक्ष विकास शाक्यले भन्नुभयो । बिहार व्यवस्थित बनेपछि देशभरबाट बुद्ध धर्मको प्रचारप्रसार, ध्यान गर्न र ज्ञान बाँड्न आउने भीक्षुलाई व्यवस्थापन गर्न, ध्यान शिविर सञ्चालनदेखि नेवारी समुदायमा हुने सामूहिक बेलविवाह, व्रतबन्ध तथा सामाजिक कार्यमा सहज भएको शाक्यको भनाइ छ ।

मौलिक परम्परा र संस्कृतिका धनी शाक्य समुदायलाई जोगी नाच, रोपाईं नाच, कटुवाल नाच, सिकारी तथा लाखेलगायतका नाँचलाई बागलुङमा थालनी गरेको श्रेय जान्छ । ‘‘बागलुङ बजारमा थालनी गरिएका नेवारी समुदायका मौलिक नाच र प्रचलनहरु विस्तारै जिल्लाका विभिन्न ठाउँमा फैलिएको हो ।’’ संरक्षक सदस्य मुकुन्द शाक्यले भन्नुभयो ।