• १९ वैशाख २०८१, बुधबार

'भर्ना प्रक्रिया जारी छ : विद्यार्थी घटेको भन्न मिल्दैन'

blog

'विद्यार्थीले तीन चार ठाउँमा प्रवेश परीक्षा दिई नाम निस्केपछि आफूलाई मन पर्ने कलेजमा भर्ना हुने भएकाले  इन्जिनियरिङमा सिट खाली जस्तो देखिएको हो ।'

काठमाडौं, पुस १ गते । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान एकीकृत प्रवेश प्रणलीका अनुसार त्रि. वि. विश्वविद्यालय इन्जिनियरिङ संस्थान अन्तर्गत इन्जिनियरिङ कलेजहरुमा ६५ प्रतिशतभन्दा बढी इन्जिनियरिङका विद्यार्थी भर्ना भइसकेका छन् । 

त्रि.वि. अन्तर्गतका १५ वटा इन्जिनियरिङ कलेजमा  चार हजार ३४४ मध्ये दुई हजार ८६० वटा सिट मध्ये दुई हजार ८६० वटा सिटमा विद्यार्थी भर्ना भइसकेका छन् । एक हजार ४८४ वटा सिट खाली छन् । उक्त प्रणली अनुसार ६५ प्रतिशत विद्यार्थी भर्ना भइसकेका छन् । 

पुलचोक इन्जिनियरिङ क्याम्पसमा ६२४ सिट मध्ये ३० सिट खाली छन् । थापथली इन्जिनियरिङ क्याम्पसमा ४३२ सिटमध्ये १०८ सिट खाली छन् । पश्चिमाअञ्चल  क्याम्पसमा ४३२ मध्ये ११९ सिट खाली छन् । पुर्वाअञ्चल क्याम्पसमा ५२८ मध्ये १०१ वटा सिट खाली छन् । काठमाडौं, इन्जिनियरिङ कलेजमा ३८४ सिटमध्ये १५५ सिट खाली छन् । कान्तिपुर इन्जिनियरिङ कलेजमा २२८ सिट मध्ये २०९ सिट खाली छन् । सगरमाथ  इन्जिनियरिङ कलेज १४४ मध्ये ६३  सिट खाली छन् । 

एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा ३३६ मध्ये १६० सिट खाली छन् । त्यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङमा २४० मध्ये १४० सिट खाली छन् । नेशनल कलेज अफ इन्जिनियरिङ २४० मध्ये  ३० सिट खाली छन् । ललितपुर इन्जिनियरिङ कलेजमा ९६ सिट मध्ये ६४ सिट खाली छन् । क्याथफोर्ड इनटरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा १९२ सिट मध्ये १०४ वटा सिट खाली छन् । जनकपुर इन्जिनियरिङ कलेजमा १९२ मध्ये १७२ सिट खाली छन् । ख्वपा कलेज अफ इन्जिनियरिङमा १९२ सिटमा २७ सिट खाली छन् । चितवन इन्जिनियरिङ कलेजमा २४ सिट मध्ये दुई सिट खाली छन् । 

पछिल्लो समय इन्जिनियरिङ विषयमा आङ्गिक तथा सम्बन्ध प्राप्त कलेजमा अहिले विद्यार्थी नपाएर विभिन्न खालका सिट खालि रहेको भन्दै भ्रम सिर्जना भइरहेका छन् । स्वदेशमा मात्र नभई विदेशमा समेत दक्ष र क्षमतावान् प्राविधिक जनशक्तिको माग भइरहेको अवस्थामा इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण कम भएको हो कि भनेर धेरेले गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

विश्वविद्यालयले समयमै परीक्षा नलिनु, लिएका परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ, कक्षा १२ पास गरे लगत्तै विदेशतिर लाग्ने प्रवृत्ति बढ्नुलगायत कारणले स्वदेशमा अध्ययन गर्न विद्यार्थीको सङ्ख्या घटेको धेरैको आकलन छ । 

इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रा.डा.शशीधर राम जोशीले भर्ना प्रक्रिया नसकिएकोले  विद्यार्थीको सङ्ख्या घटे नघटेको थाहा नहुने बताउनहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले भर्ना प्रक्रियामै छौँ । भर्खर तीनवटा मात्र लिस्ट निकालेका छौँ । १२।१३ वटा लिस्ट निकालेपछि मात्र इन्जिनियरिङ पढ्ने विद्यार्थीको घटे नघटेको थाहा हुन्छ ।” उहाँका अनुसार भर्ना प्रक्रिया सकिन एक महिना लाग्छ । 

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा.पदमबहादुर शाहीले अहिले नै विद्यार्थी भर्ना प्रक्रियामा रहेकोले अहिले नै विद्यार्थी घटेको भन्न नमिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले कलेजहरू भर्ना प्रक्रियामै रहेकाले विद्यार्थी घटेको भन्न मिल्दैन, भर्ना प्रक्रिया सकिएपछि मात्र थाहा हुन्छ ।” 

नेपाल इन्जिनिर्यस सङ्घका  डा.हरिबहादुर दर्लामीले विद्यार्थीले तीन चारवटा कलेजमा इन्जिनियरिङ प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि एउटा मात्र छानेर भर्ना भएकाले अन्य कलेजमा सिट खालि जस्तो देखिएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अहिले इन्जिनियरिङ कलेजमा विद्यार्थी कम देखिएका समाचारहरू आएका छन् । तर त्यो सत्य होइन, विद्यार्थीले तीन चारवटा कलेजमा इन्जिनियरिङ प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि एउटा मात्र छानेर भर्ना भएकाले अन्य कलेजमा सिट खालि जस्तो देखिएको हो ।”

उहाँका अनुसार विद्यार्थी तीन चार ठाउँमा प्रवेश परीक्षा दिन्छन् र आफूलाई मन पर्ने कलेजमा भर्ना हुन्छन्। भर्ना प्रक्रिया सकिएपछि मात्र घटे नघटेको थाहा हुने दर्लामी बताउनुहुन्छ। 

डा. दर्लामीका अनुसार नेपालमा इन्जिनियरिङ शिक्षा अध्ययन पूरा गरेपछि पनि रोजगारीका अवसर सुनिश्चित नहुनु, आयआर्जनको अवसर पनि कमी भएकाले प्लस टु पासपछि ठुलो सङ्ख्यामा विद्यार्थीहरू वैदेशिक अध्ययन जाने भएकाले पहिलेको तुलनामा कलेजमा विद्यार्थीको सङ्ख्यामा कमी आएको हो । अब विद्यार्थीलाई नेपालमा नै रोक्न अध्ययन पूरा गरेपछि रोजगारीका अवसर सुनिश्चित कसरी गर्ने, आयआर्जनको अवसर कसरी प्रदान गर्ने नीति निर्माण तहबाटै बहस आवश्यक रहेको दर्लामीको भनाइ छ । 

देशभरका  पूर्वाञ्चल, त्रिभुवन, पोखरा, काठमाडौँ, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चललगायतका विश्वविद्यालयका ५७ वटा इन्जिनियरिङ कलेजको स्नातक तहमा करिब सात हजार विद्यार्थीको भर्ना क्षमता छ । 

नेपाल इन्जिनियरिङ परिषद्का अनुसार देशमा अहिलेसम्म ७७ हजारले इन्जिनियरिङको लाइसेन्स प्राप्त गरिसकेका छन् । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।