काठमाडौँ, भदौ २० गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नारीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर नेपालमै उपलब्ध भइरहेको बताउनुभएको छ ।
राजधानीस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको शुक्रबार उद्घाटन गर्दै उहाँले सामुदायिक क्याम्पस भएर पनि यस क्याम्पसले छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा धन्यवाद दिनुभयो।
‘नारीहरुलाई गुणस्तरीय र आफूले रोजेको विषय पढ्न पाउने अवसरहरु अहिलेको शिक्षा नीतिले दिएको छ’, सिंहले भन्नुभयो, ‘अव गुणस्तरीय वा उच्च शिक्षाका लागि विदेश धाउनुपर्ने जमानाको अन्त्य भएको छ ।’
सरकारले शिक्षाको गुणस्तरलाई उकास्न खुला र प्रतिष्पर्धालाई जोड दिएको भन्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले योग्य विद्यार्थीहरुलाई विदेशमा आकर्षक रोजगारी र अवसरहरु पनि उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो ‘गुणस्तरीय शिक्षाबाट योग्यता पुगेकाहरुले नेपालमै पनि बहुमुखी अवसर पाउने गरेका छन् ।’
उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले आफ्नै जग्गा र भवन नभए पनि नारी शिक्षाको निरन्तरताका लागि दिएको योगदानले महिलाको सशक्तीकरण ठूलो टेवा दिएको बताउनुभयो ।
सो अवसरमा प्रमुख अतिथि सिंहले २०८१ सालको स्नातक तहका विभिन्न संकायतर्फ सर्वोत्कृष्ट अङ्क ल्याएर प्रथम हुने छात्राहरुलाई सम्मान पत्र र पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथि सिंहसहितले क्याम्पसले प्रकाशन गरेको पुस्तक पुष्पाञ्जलीको २०औं अङ्कको लोकार्पण गर्नुभयो ।
स्नातक तहको मानवीकि तथा सामाजिक सङ्कायतर्फ प्रथम हुने समृद्धि प्याकुरेल, शिक्षा सङ्कायतर्फ प्रथम हुने सुप्रभिता श्रेष्ठ, व्यवस्थापन सङ्कायतर्फ प्रथम हुने ईसा भट्टराई र बीबीएममा प्रथम हुने रेजिना मग र कुसुम थापालाई पुरस्कृत गरिएको थियो ।
वार्षिकोत्वस समारोहमा बोल्दै क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले उपयुक्त शान्त वातावरणमा नियमित कक्षा सञ्चालन गरेर कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनु भयो ।
उहाँले दाताको सहयोग, प्राध्यापक र कर्मचारीहरुको योगदानले गुणस्तरीय शिक्षा दिन सफल भए पनि आर्थिक चुनौती थपिँदै गएको बताउनु भयो ।
नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ डिल्लीबजार कन्या बहुमुखी क्याम्पस एकाइका सभापति नीलकण्ठ भुसालले न्यून सुविधामा समेत प्राध्यापकहरुले गुणस्तरीय शिक्षाका लागि योगदान दिएको बताउनुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. रुद्र शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा गोविन्दराम अग्रवाल छात्रवृत्ति बिबिएसकी छात्रा स्नेहा कुमारी, स्व. शैलेन्द्रनाथ रिमाल मुकुन्देश्वरी रोहिणीदेवी रिमाल छात्रवृत्ति बिएडकी छात्रा कमला रोका मगरलाई र ईश्वरराज अर्याल छात्रवृत्ति बिएडकी बिना चापागाईंलाई प्रदान गरियो ।
त्यस्तै, मुकुन्देश्वरी रिमाल छात्रवृत्ति विएकी छात्रा बिन्दा सुवेदीलाई, दयाकृष्ण दाहाल छात्रवृत्ति एमबिएसकी छात्रा बबिता शाह र बिबिएमकी सबिना बस्नेतलाई प्रदान गरियो ।
क्याम्पसले बलभद्र चन्द्रकला छात्रवृत्ति बिबिएमकी कृपा माझाीलाई, ललिताकुमारी बस्नेत छात्रवृत्ति एमए समाजशास्त्रकी छात्रा रंजिता खनाललाई, नेपाल गल्सं केयर संस्थाले प्रदान गर्ने छात्रवृत्ति बिएडकी शान्ति जागरी र सुवेक्षा कार्की, बिएकी मीना थोकर तथा फुर्यागु शेर्पा र धर्मकुमारी भट्टराई विपन्न छात्रवृत्ति बिबिएसकी रीता कार्कीलाई प्रदान गरियो ।