• २० भदौ २०८२, शुक्रबार

सहकारी शिक्षा तालिम सञ्चालन

blog

सहकारी शिक्षा तालिमका सहभागी।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २० गते। ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकामा सहकारी शिक्षा तालिम सञ्चालन गरिएको छ। अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत मिक्वाखोलामा दुई दिने सहकारी शिक्षा तालिम सञ्चालन गरिएको हो।

गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बिहीबार र शुक्रबार दुई दिन सहकारी शिक्षा सञ्चालन गरिएको हो। तालिममा पालिकाका पाँचवटै वडाका ४० जना सहभागी भएका गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो। प्रशिक्षक मणि भण्डारी लगायतले तालिमको सहजीकरण गर्नुभएको पनि थापाले बताउनुभयो।

दुई दिने सहकारी शिक्षा तालिम तथा प्रथम भेलाले शुक्रबार अपाङ्गता केन्द्रित फुङ्फुङगे अपाङ्ग कृषि सहकारी संस्था लिमिटेड पनि गठन गरिएको अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो। सात सदस्यीय सञ्चालक समिति रहेको उक्त सहकारीको अध्यक्षमा सुदर्शन साँवा लिम्बू, उपाध्यक्ष पूर्ण नैदेम्बा, सचिव एवी साँवा र कोषाध्यक्षमा पासाङ शेर्पा चयन हुनुभएको छ।

बिहीबार सहकारी शिक्षा तालिमको शुभारम्भ (उद्घाटन) गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले गर्नुभएको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रेश्मा राई, स्वास्थ्य शाखा संयोजक ललितनारायण यादव, शिक्षा शाखाका पवन भट्टराई, पालिकाको सहकारी शाखा संयोजक लक्ष्मी मगरलगायतको उपस्थिति रहेको थियो।