• २३ भदौ २०८२, सोमबार

मेयरसँग विद्यार्थी : प्रतिभा पलायन रोक्न नगरका योजना के छन् ?

blog

नगरप्रमुख बसन्तकुमार श्रेष्ठसँग जिज्ञासा राख्दै विद्यार्थीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ २३ गते ।
कक्षा १० देखि १२ सम्म पढ्ने विद्यार्थीहरुले युवा विदेश पलायन रोक्ने योजनाबारे नगरप्रमखलाई प्रश्न गरेका छन् । रोजगारीसँगै उच्च शिक्षाको नाममा हरेक वर्ष ठुलो सङ्ख्यामा नेपाली युवा विद्यार्थी विदेश पलायन भइरहेकोप्रति चिन्ता जाहेर गर्दै युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमलाई समयसापेक्ष बनाई देशमै रोजगार सिर्जना गर्ने कार्यक्रम बनाउन विद्यार्थीहरुले नगरप्रमुखलाई सुझाव दिएका हुन् ।

बागलुङ जेसीजले आयोजना गरेको ‘विद्यार्थीसँग मेयर’ कार्यक्रममा सहभागि विद्यार्थी असिम रिजालले नगरप्रमुख बसन्तकुमार श्रेष्ठलाई प्रश्न गर्दै भन्नुभयो, ‘‘कक्षा १२ पास भएलगत्तै अधिकांश युवा उच्च शिक्षाको अलवा रोजगारीको नाममा विदेश लाग्छन्, प्रतिभा पलायन रोक्न नगरले रोजगारका कार्यक्रम ल्याउनुप¥यो ।’’ स्वदेशमै मागअनुसार उच्च शिक्षाको व्यवस्था गर्नसके प्रतिभा पलायन रोकिने रिजालको सुझाव थियो ।

विद्यार्थीहरुले समसामयिक विषयदेखि आत्मनिर्भर बागलुङ बनाउने योजनबारे नगरप्रमुखसँग जिज्ञासा राखेका थिए । सामुदायिक कुकुर व्यवस्थापन, बालमैत्री नगर घोषणा कार्यान्वयन, विद्यालयहरुको गुणस्तरीय शिक्षाबारे अनुगमन गर्न विद्यार्थीको माग थियो । ‘‘सडक बनाउने काम मात्र नभइ दिगो कसरी बनाउन सकिन्छ भन्नेबारे पनि नगरको सोच आवश्यक छ’’ कक्षा ११ मा अध्ययनरत विद्यार्थी निकेश खड्काले भन्नुभयो, ‘‘दिगो विकासको लक्ष्यले नीति तथा कार्यक्रम बनाउन आवश्यक छ ।’’

बालमैत्री नगर घोषणा भैसकेपछि विद्यार्थीको क्षमता पहिचान गर्नेगरी विज्ञान प्रदर्शनीलाई नियमित बनाउनुपर्ने, बालश्रम अन्त्य नभएको विषय नगरको चासोमा पर्नुपर्ने विद्यार्थीहरुको सुझाव थियो । उनीहरुले पढ्दै कमाउँदै कार्यक्रम, पर्यटन क्षेत्रमा भइरहेका गतिविधि र गुणस्तरीय शिक्षाको लागि नगरका योजनाबारे जिज्ञाशा राखेका थिए ।

प्रश्न सुनेपछि नगरप्रमुख श्रेष्ठले विद्यार्थीले बालमैत्री अबधारणा थाहा पाएकोमा खुसी व्यक्त गर्दै युवा पलायन रोक्न नगरपालिका सधैं अग्रसर रहेको बताउनुभयो । बालमैत्री नगरको दिगोपनाका लागि कैयौं काम भएको कतिपय काम चलिरहने बताउनुभयो । ‘‘नगरपालिकाले बिपन्नलाई निशुल्क पढाउने योजना ल्याएको छ । कानून संकायका विद्यार्थीलाई निशुल्क पढाएको र कृषि विषय अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति दिने लक्ष्य छ’’ श्रेष्ठले भन्नुभयो, ‘‘आवस्यक शैक्षिक लगानी, पोशाकमा पनि छात्रवृत्ति दिँदै आएका छौं ।’’

श्रेष्ठले आगामी तिहारसम्म कुकुर सेल्टर तयार गरेर सामुदायिक कुकुर व्यवस्थापन गरिने, हाइम्याक्स विद्युतीय बत्ति बालेर नगरलाई उज्यालो बनाउने, छिट्टै विज्ञान प्रर्दशनी गरेर विद्यार्थीका रचनात्मक क्रियाकलाप उजागर गरिने, हरेक कक्षाकोठा स्मार्ट बोर्ड राखिने, विद्यामन्दिर माविमा चिल्ड्रेन पार्क र थप शौचालय बनाउने, धार्मिक क्षेत्रहरुको पहिचान बढाएर पर्यटनमार्फत जिल्ला र नगर समृद्व बनाउने योजना रहेको बताउनुभयो ।