• २३ भदौ २०८२, सोमबार

इटहरीमा निषेधाज्ञा जारी

blog

इनरुवा (सुनसरी), भदौ २३ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको  सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । 

उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलङ्की मोडदेखि जनताबस्तीसम्मका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ। 

कर्फ्यू जारी गरिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने कानुनी व्यवस्था छ । इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका जेनजी पुस्ता र प्रहरीबिच यसअघि झडप भएको थियो। 

प्रदर्शनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रण लिनका लागि प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै बिहान ११ः०० बजेदेखि यहाँ सुरु भएको प्रदर्शन अनियन्त्रित भएपछि बाध्य भई केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस