• २४ भदौ २०८२, मङ्गलबार

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै

blog

नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलन । तस्बिरः सागर बस्नेत

काठमाडौँ, भदौ २३ गते।  नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेनजी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ।  

अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा तीन जनाको निधन भएको र थप घाइते आउने क्रम जारी छ।  

“प्रदर्शनकारी र प्रहरीबीचको झपडमा अहिले पनि अस्पतालसम्म अश्रुग्यास आइरहेको छ”, उहाँले भन्नुभयो, “घाइते अझ कति हुने हुन् थाहा छैन।  हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरिरहेका छौँ।”

अपराह्न १२ बजेदेखि आकस्मिक उपचार कक्षमा घाइतेहरु उपचारका लागि आउन थालेको उहाँले बताउनुभयो।  

अस्पतालमा उपचार हुन नसकेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको उहाँले जानकारी दिनुभयो।  प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरु उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ।