जेनेभा, भदौ २३ गते । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सोमबार गाजाबारे इजरायली अधिकारीहरूले गरेको ‘नरसंहारको बयानबाजी’ प्रति कडा चेतावनी दिँदै त्यसको अन्त्यका लागि निर्णायक अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान गर्नुभएको छ ।
उहाँले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रलाई पहिले नै ‘चिहान’ भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६०औँ सत्रमा उदघाटन सम्बोधन गर्दै टर्कले गाजामा इजरायलले प्यालेस्टिनी नागरिकको सामूहिक हत्या गरेको, अवर्णनीय पीडा र थोक विनाश ल्याएको, जीवनरक्षक सहायता रोक्का गरेको, नागरिकलाई भोकमरीतर्फ धकेलेको, पत्रकार, संयुक्त राष्ट्रसङ्घका कर्मचारी तथा एनजिओ कामदारहरूको हत्या गरेको भन्दै कडा निन्दा गर्नुभयो ।
“वरिष्ठ इजरायली अधिकारीहरूले खुलेर नरसंहारको बयानबाजी गरेको र प्यालेस्टिनीप्रति अमानवीय तथा अपमानजनक शब्दप्रयोग गरेको देख्दा म गम्भीर चिन्तित छु”, उहाँले भन्नुभयो । हमासको घातक आक्रमणपछि सुरु भएको युद्ध करिब दुई वर्ष पुगेको सन्दर्भमा उहाँले ‘क्षेत्र शान्तिका लागि कराइरहेको’ भन्दै जोड दिनुभयो । उहाँले अधिकार परिषदमा गाजालाई ‘चिहान’ को संज्ञा दिनुभयो ।
यसैबिच, इजरायली सेनाले आइतबार गाजा सहरस्थित एक आवासीय टावर ब्लकमा लगातार तेस्रो दिन बम प्रहार गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीको प्रमुख सहरी क्षेत्रमा आक्रमणलाई ‘गहिरो’ पारिरहेको घोषणा गरेसँगै टर्कको टिप्पणी आएको हो ।
गत महिना गाजामा आधिकारिकरूपमा अनिकाल घोषणा गरिएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजा सहर र वरिपरि करिब १० लाख मानिस बसोबास गर्दै आएका छन् । निरन्तर इजरायली आक्रमण जारी रहेमा ‘विपत्ति’ निम्त्याउने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । टर्कले भन्नुभयो, “थप सैन्यीकरण, कब्जा, विलय र दमनले हिंसा, प्रतिशोध र आतङ्कलाई मात्र पोषण गर्ने छ ।”
उहाँले अन्तर्राष्ट्रिय न्याय अदालतले आदेश दिएअनुसार इजरायलका ‘नरसंहारका कार्य रोक्न, नरसंहार उक्साउनेलाई सजाय दिन र गाजामा पर्याप्त सहायता पु¥याउन’ कानूनी दायित्व रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदाय आफ्नो कर्तव्यमा असफल भएको भन्दै कडा आलोचना गर्नुभयो । “हामी गाजाका जनतालाई असफल तुल्याइरहेका छौँ”, उहाँले भन्नुभयो ।
‘नरसंहार रोक्न निर्णायक कदम कहाँ छन् ?’ भन्दै उहाँले देशलाई ‘अत्याचार अपराध रोक्न अझ बढी गर्नुपर्ने’ आग्रह गर्नुभयो । साथै उहाँले चेतावनी दिँदै भन्नुभयो, “इजरायलतर्फ हतियारको प्रवाह तत्काल रोक्नुपर्छ, जसले युद्धको कानून उल्लङ्घन गर्ने जोखिम बढाउँछ ।” रासस/एएफपी