• २३ वैशाख २०८१, आइतबार

मलमूत्रले उपचार !

blog

मानिसलाई आफ्नो सरसफाइमा ध्यान दिन सर्वप्रथम आफ्नो मलमूत्रमा विशेष ध्यान दिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । मलमूत्र चलाएमा राम्ररी हातगोडा धुने र मलमूत्रको व्यवस्थित विसर्जन गरिनु पर्ने सर्वमान्यता पनि छ । अन्यथा रोग सर्ने र वातावरण दूषित हुने गर्छ । 

अन्य व्यक्तिको मल (दिसा) लाई आफ्नो शरीरमा प्रवेश गराई उपचारात्मक लाभ लिन सकिने अवधारणा विकास भएको थाहा पाउँदा अचम्म मान्नु हुन्छ होला तर दिसामा हुने ब्याक्टेरियालाई शरीरमा प्रत्यारोपण गरी आन्द्राका कतिपय समस्या समाधान गर्न सकिने देखिएको छ । आन्द्रामा रहेका हितकारी ब्याक्टेरियाले शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्न महत्वपूर्ण भूमिका खेल्छन् र दिसाबाट ब्याक्टेरिया लिएर प्रत्यारोपण गरे शरीरमा त्यसको लाभ पुग्ने वैज्ञानिकको भनाइ छ । 

चिकित्सा विज्ञान क्षेत्रमा अचेल प्रचलनमा रहेका विभिन्न खालका प्रत्यारोपण विधिमा दिसा प्रत्यारोपण सबैभन्दा सरल र सुरक्षित हुने विश्वास गरिएको छ । तथापि रोगीलाई यो विचित्रको लाग्न सक्छ । यस विधि अन्तर्गत दिसाका हितकारी ब्याक्टेरियालाई शरीरमा प्रत्यारोपण गरी हानिकारकलाई विस्थापित गरिन्छ । 

मलमूत्रले उपचार गरिने पद्धति पूर्वीय संस्कृतिमा पहिलेदेखि नै प्रचलनमा रहेको छ । आधुनिक चिकित्सा विज्ञानले बल्ल त्यसको महत्व बुझेर त्यसलाई आधुनिकीकरण गर्न खोजेको मात्र हो । झाडापखालाको अवस्थामा दिसा प्रत्यारोपण गरेर उपचार गरिने पद्धति चीनमा चौथो शताब्दीमा नै प्रचलनमा रहेको थियो ।

सोह्रौँ शताब्दीमा ली सिझेनले दिसाबाट तयार पारिएका विभिन्न औषधिले मानिसको उपचार गरेको देखिन्छ । सोही अवधिमा पशु उपचारका लागि विकसित भएको पद्धति ट्रान्सफाउनेसन अचेल पनि अभ्यासमा रहेको छ । यस विधिमा स्वस्थ दाता पशुको आन्द्राका ब्याक्टेरियालाई बिरामी पशुमा स्थानान्तर गरिन्छ । 

द्वितीय विश्वयुद्ध ताका जर्मनीका सैनिकले ब्याक्टेरियाले गर्दा उत्पन्न हुने झाडापखाला ऊँटको ताजा दिसा खाँदा निको हुने जनाएका थिए । यसरी हेर्दा दिसाले उपचार गरिने पद्धति शताब्दीयौँ पुरानो भएको देखिन्छ । इतिहासमा यसको लामो जरा छ । 

अचेल आधुनिक चिकित्सा पद्धतिमा दिसा प्रत्यारोपण विधि अवलम्बन गर्दा स्वस्थ दाताबाट दिसा लिएर त्यसलाई रसायनमा मिसाएर नचाहिने वस्तुलाई हटाइन्छ । त्यसपछि त्यसलाई रोगीमा प्रत्यारोपित गरिन्छ । रोगीको शरीरमा दिसा प्रत्यारोपण गर्ने तरिका फरक छन् । चिकित्सकले रोगीको शरीरमा दिसा प्रत्यारोपण गर्न इनिमा, इन्डोस्कोपी, कोलोनोस्कोपी वा सिग्मोइडोस्कोपी प्रयोगमा ल्याउन सक्छन् । यी सबै विधिको प्रभावकारिता एकै किसिमको छ र रोगीले नै आफ्नो रोजाइ चिकित्सकलाई भन्नु पर्ने हुन्छ । 

मानिसको जन्मसँगै आन्द्रामा ब्याक्टेरिया, ढुसी, प्रोटोजोआको वृद्धि सुरु हुन्छ । यिनीहरूले हाम्रो प्रतिरक्षा प्रणालीलाई सबल पार्न मुख्य योगदान गर्छन् । आन्द्रामा ब्याक्टेरिया, प्रोटोजोआ आदिको सन्तुलन रहनु जरुरी छ । केही गरी हितकारी र हानिकारक ब्याक्टेरिया र अन्य सूक्ष्म जीवबीच असन्तुलन उत्पन्न भयो भने हामीलाई बिसन्चो हुन्छ । स्वस्थ व्यक्तिको दिसा प्रत्यारोपण गरिए आन्द्रामा हितकारी र हानिकारक ब्याक्टेरिया तथा अन्य सूक्ष्म जीवबीच सन्तुलन उत्पन्न भई रोगी निको हुने अवधारणा यस पद्धतिको छ । 

विशेषज्ञहरूका अनुसार सरसफाइको अवस्था कमजोर रहेका देशमा विकसित देशको दाँजोमा प्रतिरक्षा प्रणाली उग्र भएर उत्पन्न हुने केही रोगको दर कम देखिएको छ । अचेल पेट दुख्ने र झाडापखाला लाग्ने आन्द्राको समस्या समाधान गर्न दिसा प्रत्यारोपण गर्ने गरिएको छ । 

आन्द्रामा हितकारी ब्याक्टेरियाको कमी हुन जाँदा झाडापखाला लाग्ने र पेट दुख्ने गर्छ । विशेष गरी अन्य कुनै समस्याका लागि एन्टिबायोटिक खाएमा त्यस प्रकारको समस्या उत्पन्न हुन्छ किनभने एन्टिबायोटिकले आन्द्राका हितकारी ब्याक्टेरियालाई पनि क्षति पु¥याउँछ । नराम्रासँगै राम्रा ब्याक्टेरिया पनि एन्टिबायोटिक्सले मार्छ ।

अमेरिकामा त स्वस्थ मानिसको दिसा सङ्कलन गरेर राख्ने भण्डारगृह पनि स्थापना गरिएको छ । यसैबीच ढलमा पाइने भाइरसलाई दाँतको उपचारमा प्रयोग गर्न सकिने देखिएको छ । एन्टिबायोटिक्सको जथाभाबी प्रयोगसँगै ब्याक्टेरियामा औषधि प्रतिरोध क्षमता विकसित हुन थालेपछि वैज्ञानिकले वैकल्पिक उपायको खोजी गर्दा ढलको भाइरसमाथि परीक्षण सुरु गरेका हुन् । 

तथापि विगतमा ब्याक्टेरियाको सङ्क्रमणबाट मुक्ति पाउन भाइरसले आफूलाई सङ्क्रमित गर्ने अभ्यास रहेको थियो । जीव विज्ञानमा पनि भाइरसले ब्याक्टेरियालाई सङ्क्रमित गर्ने तथ्य उल्लेख गरिएको छ । ब्याक्टेरियोफेज भनिने सिद्धान्तमा भाइरसले ब्याक्टेरियालाई सङ्क्रमित गर्ने विषयवस्तु समेटिएको छ । ब्याक्टेरियाविरुद्ध पहिलो पटक औषधि विकास गरिँदा नै वैज्ञानिकले ब्याक्टेरियाविरुद्ध ब्याक्टेरियोफेजलाई प्रयोग गर्ने बारेमा विचार गरेका थिए तर त्यसबेला एन्टिबायोटिक्स प्रभावकारी देखिएपछि त्यस विषयमा कसैले फेरि विचार गरेन ।

दसकौँपछि अहिले आएर ब्याक्टेरियामा एन्टिबायोटिक्सको प्रभाव कमजोर पर्न थालेकाले ब्याक्टेरियोफेजमा फर्कने प्रयास भएको छ । इजरायलको हिब्रु विश्वविद्यालयको अनुसन्धान टोलीले अप्लाइड एन्ड इन्भाइरोन्मेन्टल माइक्रोबायोलोजी जर्नलमा जनाए अनुसार जेरुसलेमको ढलबाट निकालिएका भाइरसको ब्याक्टेरियोफेज अवस्था इएफडिजी १ ले औषधि प्रतिरोधी ब्याक्टेरिया इन्टेरोकोकस फयकालिसलाई मारेको छ । यस ब्याक्टेरियाले कहिलेकाहीँ दन्त उपचारको बेला सङ्क्रमण गर्दछ । 

साथै यो ब्याक्टेरिया मानिसको आन्द्रामा पनि पाइन्छ । अत्यन्त खतरनाक मानिएको यस ब्याक्टेरियाले मुटुको सङ्क्रमण इन्डोकार्डाइटिस उत्पन्न गर्छ । 

–युवामञ्च