• २० वैशाख २०८१, बिहिबार

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : रोजगारी नहुँदा झनै मर्कामा

blog

सपना थामी

काठमाडौं, मंसिर १७ गते। ‘दिगो विकास लक्ष्यको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारासहित आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।

जन्मजात हुने वा दुर्घटनापछि हुने विभिन्न प्रकारका अपाङ्गता, यो जो कोहीका लागि निकै अप्रिय हुन्छ। जसकारण उनीहरू आर्थिक तथा सामाजिक रूपमा पीडित भएर बाँच्न बाध्य छन्।  

रातमा पटक्कै आँखा देख्न नसक्ने ४० वर्षीय जीवश अधिकारी दिनमा भने मुस्किलले आँखा देख्न सक्नुहुन्छ। उहाँ धनुषाबाट २०६३ सालमा काठमाडौँ प्रवेश गर्नुभयो। त्यो समयदेखि अगरबत्ती धूप बिक्रीमार्फत उहाँको जीविका चल्दै आएको छ। 

आँखामा भएको समस्याकै कारण उहाँले बाटोमा हिँड्दा धेरै पटक कुकुरको टोकाइमा परेको त बारबार सडकमा लड्नुपरेको दुःख सुनाउनुभयो।

२४ वर्षीया मकवाना तामाङ बिहान कलेज पढ्ने र बाँकी समय धूप बिक्री गर्नुहुन्छ। उहाँले दृष्टिविहीन या फरक क्षमता भएकालाई पढे पनि रोजगार नहुँदा जीविकोपार्जन गर्न झनै मर्का पर्ने गरेको बताउनुभयो। 

मकवानालाई जीवन धान्नका लागि आयआर्जनको काम गर्नुपर्छ भनेर घरपरिवारले निरन्तर सम्झाउने गर्छन्। उहाँले भन्नुभयो, “पढे पनि रोजगार छैन। सरकारले रोजगारको व्यवस्था गर्नुपर्‍यो। बाटोघाटो राम्रो छैन, मिलाउनुपर्‍यो।” बाटोमा एक्लै हिँड्दा दुर्घटना हुने सम्भावना धेरै हुने उहाँको भनाइ छ। 

उहाँले अगरबत्ती धूपको बिक्री पनि राम्रो नभएकाले आयआर्जन एवम् जीवनयापनमा थप असहज हुने गरेको गुनासो पोख्नुभयो। 

४० वर्षीय मानबहादुर राना मगर काठमाडौँको सितापाइलामा किराना पसल सञ्चालन गर्नुहुन्छ। होचापुड्का मान्छे आयो भने फरक दृष्टिकोणले हेर्ने र जिस्काउने प्रवृत्ति रहेको उहाँको अनुभव छ।

उहाँले भन्नुभयो, “हामी हिड्डुल गर्न सक्दैनौँ। त्यसैले साधनको प्रयोग गरेका हौँ। बिहान खाएँ, बेलुका के खाउँ, बेलुका खाएँ बिहान के खाउँ भन्ने अवस्था छ। दुई, तीन पाइला हिँडे पनि समस्या हुन्छ। त्यही नि डल्ले, पुड्के आयो भनेर जिस्काउँछन्।” 

यसैगरी, दोलखाकी सीता भण्डारीले ६ महिनाको उमेरमा आगोमा खेल्दा खेल्दै एउटा हातै गुमाउनुपर्‍यो। हाल वर्न सर्भाइभर डिसेबल सोसाइटी, नेपालका अध्यक्षसमेत रहनुभएका भण्डारी दुर्घटनापछि समाजमा राम्रोसँग घुलमिल समेत हुन नसकेको अनुभव सुनाउनुहुन्छ।

उहाँले भन्नुभयो, “प्रायः समाजले राम्रै मान्छेलाई हेर्न खोज्छ। दुर्घटनाभन्दा अगाडि चहकिलो अनुहार त्यसपछि डाउन भइदिन्छौ। बिग्रेको अनुहारलाई नराम्रो दृष्टिले हेर्ने र प्रतिक्रिया दिने गर्छन्। आगलागी फरक किसिमको अपाङ्गता हो भनेर बुझाउन लागिरेहेका छौँ।”

आधा उमेर ढल्केका मात्र नभई दिवसका अवसरमा विद्यालय पढ्दै गरेका अपाङ्गता भएका विद्यार्थीको सहभागिता समेत उत्साहपूर्वक देखिन्छ। खासगरी, काठमाडौँको नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट दर्जनौँ विद्यार्थी साङ्केतिक भाषामा गफिएको देख्न सकिन्थ्यो। उनीहरूको भविष्यमा कोही शिक्षक बन्ने, त कोही चित्रकार या कोही एयरहोस्टेज बन्ने लक्ष्य रहेको सुनाउँछन्। 

महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नेपाली साङ्केतिक भाषाको दोभाषेका रूपमा कार्यरत आकृति न्यौपानेले अपाङ्गता भएका व्यक्तिको सहजीकरणका लागि हरेक क्षेत्रमा पहल हुनुपर्ने बताउनुभयो। कुनै कार्यक्रम, सेमिनार, गोष्ठी या अनौपचारिक क्षेत्रमा सुनुवाइ सम्बन्धी अपाङ्गता भएकालाई यसरी दोभाषे भेट्दा आमाबुवा भेटेजस्तै खुसी हुने गरेको उहाँको अनुभव छ। 

विभिन्न प्रकारका अपाङ्गता तथा फरक क्षमता भएकाको सीप, क्षमताका आधारमा रोजगारको अवसर उपलब्ध गर्नुपर्ने तथा आत्मसम्मानपूर्वक जीवनयापनको वातावरण निर्माण गर्नुपर्ने उनीहरूको माग छ। दिवसको अवसरमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पर्नुभएको भिडियो सामग्रीः 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।