• १२ साउन २०८१, शनिबार

तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु

blog

काठमाडौं, मङ्सिर १६ गते । अन्तर्राष्ट्रिय जलरङ महोत्सव नेपालमा सुरु भएको छ । नेपालमा सुरु भएको यो महोत्सवको तेस्रो संस्करण हो । महोत्सवको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले काठमाडौँस्थित राष्ट्रिय कला परिषदमा शनिबार उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री लिम्बुले कला क्षेत्र अथाह सम्भावनाको क्षेत्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो त राजनीतिभन्दा पनि अथाह क्षेत्र रहेछ, कला क्षेत्र नेपाली समाजको उत्थानका लागि अति महत्त्वपूर्ण छ ।

त्यसैले सरकारले कहाँ उभिएर सहयोग गर्नुपर्‍यो योजना ल्याउनुस् सघाउन तयार छ ।” महोत्सवमा सहभागी हुन आएका विभिन्न मुलुकका कलाकारप्रति लक्षित गर्दै उहाँले पाहुनाको सीप कसरी भावी पिँढीले ग्रहण गर्न गर्न सक्छ भन्ने सवालमा हुने बहसले नेपालको कला भविष्यलाई सबल बनाउने दाबी उहाँले गर्नुभयो ।

पत्रकार ढुङ्गाना पुरस्कृत

महोत्सवको अवसरमा कला क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएकोमा वरिष्ठ कला समीक्षक मदनलाल चित्रकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । कला पत्रकारिताबाट नेपाली कला संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएकाले पत्रकार नारायण ढुङ्गानालाई अन्तर्राष्ट्रिय जलरङ पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । उहाँलाई कदरपत्र र नगद दश हजार रुपियाँसहित सो पुरस्कार प्रदान गरिएको हो । त्यस्तै विदेशी कलाकार म्यानमारका मिन्ट नायंगलाई तीन सय डलर बराबर राशिको गोल्ड अवार्ड, भारतका सलाम बरासानलाई ताम्रपत्र सम्मान तथा जीवन पौडेललाई युवा पुरस्कार र चर्चित श्रेष्ठलाई कला प्रवर्द्धन पुरस्कार प्रदान गरिएको थियो ।


सम्मानपछि वरिष्ठ कलाकार मदनलाल चित्रकारले कला कोरेकै कारणले नयाँ पुस्ताले यसरी सम्झने वातावरण बनेको बताउनुभयो । उहाँले नेपालको प्रकृति र कला सम्पदा कलाको अजस्र स्रोत रहेकाले त्यसको प्रेरणामा अब्बल कला उत्पादन गर्न सकिने बताउनुभयो ।

३९ देशका कला महोत्सवमा

विभिन्न मुलुकबाट प्रत्यक्ष सहभागितासँगै ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी महोत्सवका अवसरमा गरिएको छ । जलरङ कलाले झकिझकाउ बनेको कला परिषदमा आगामी २० गतेसम्म महोत्सव चल्नेछ ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष तथा महोत्सव संयोजक एनबी गुरुङका अनुसार महोत्सवमा सहभागी हुन बेलायत, म्यान्मार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका कलाकार नेपालमा आउनु भएको छ । देशीविदेशी कलाको स्वाद लिन परिषदमा आएर अवलोकन गर्न उहाँले आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले निरन्तर रूपमा महोत्सव आयोजना गरेर विदेशमा नेपालको कला प्रदर्शन गर्न सक्नु आयोजकको खुबी भएको भन्दै प्रशंसा गर्नुभयो ।

सहभागी गराइएको तीन सय ४० कला सिर्जनामध्ये नेपालका कलाकारका एक सय १५ वटा कला रहेको छ । उद्घाटन कार्यक्रमपछि परिषद्मा विदेशी कलाकारको सहभागितासहित कला डेमोस्ट्रेसनसँगै एकअर्काबाट कला निर्माणको सिकाइ आदानप्रदान भयो । विदेशी कलाकारका तर्फबाट भारतका वरिष्ठ कलाकार अमित कपुरले नेपालका लगातार भइरहेको महोत्सवले विश्वकै कलाकारको ध्यान खिचेको बताउनुभयो । यसका लागि आयोजकको मेहनत सराहनीय रहेको उहाँले बताउनुभयो ।

करिब १४ लाख रुपियाँको खर्चमा सञ्चालित महोत्सवको अवसर काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा कला कार्यशाला आयोजना गरिनेछ । त्यस्तै विदेशी कलाकारलाई काठमाडौँको प्राकृतिक दृश्यावलोकनका लागि नगरकोट लगेर कला सिर्जनाको अवसर प्रदान गरिने जानकारी समाजका महासचिव दीपेन्द्रमान बनेपालीले दिनुभयो ।