• १८ कात्तिक २०८२, मङ्गलबार

मण्डलामा ‘मिलारेपा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १८ गते । कवि तथा बौद्ध धर्मका योगी ‘मिलारेपा’ को जीवनमा आधारित कथा मङ्गलबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । परिकल्पना र निर्देशक बुद्धि तामाङ र उमेश तामाङले गर्नुभएको नाटक बौद्ध धर्मसँग सम्बन्धित रहेको छ । लेखक चाङ ङ्योन हेरुकको कृतिमा आधारित र रविन तामाङले नाट्य रूपान्तरण गरेको ‘मिलारेपा’ ले पाप, पश्चात्ताप र आत्मज्ञानको आध्यात्मिक रूपान्तरणलाई नाटकीय रूपमा चित्रण गरेको निर्देशक तामाङले बताउनुभयो । 

उहाँले ११ औँ शताब्दीका कवि तथा योगी मिलारेपा रसुवाको केरुङनजिकै जन्मिनुभएको बताउनुभयो । तामाङका अनुसार मिलारेपाले नेपालको गोरखा, सिन्धुपाल्चोक, मनाङ र मुस्ताङमा लामो समय तपस्या गर्नुभएको थियो ।  निर्देशक तामाङका अनुसार यो नाटक केवल बौद्ध धर्मको कथा होइन, यो सबैका लागि आत्मबोध र सत्यको बाटो रोज्ने प्रेरणा हो ।

२४ जना कलाकारको सहभागिता रहेको यस नाटकमा तामाङ समुदायका साथै अन्य विभिन्न पृष्ठभूमिका कलाकारको समेत अभिनय देख्न सकिन्छ । नाटकमा सङ्गीत आदित्य कटुवालको छ । नृत्य संयोजन मनीषा गोले र मणि के राईले गर्नुभएको छ । ‘मिलारेपा’ कात्तिक १८ गतेदेखि मङ्सिर २१ गतेसम्म हरेक दिन (सोमबारबाहेक) साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे मण्डला थिएटरमा सर्वसाधारणका लागि मञ्चन हुँदै छ । नाटकको अवधि १ घण्टा ४५ मिनेट रहेको छ ।