• १२ साउन २०८१, शनिबार

‘कोप–२८ महत्त्वपूर्ण अवसर’

blog

काठमाडौँ, मङ्सिर १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई नेपालका लागि यस पटक महत्त्वपूर्ण अवसरका रूपमा रहेको स्पष्ट पार्नुभएको छ ।  

दुबईमा सुरु भएको कोप–२८ सम्मेलन अन्तर्गतको उच्चस्तरीय ग्लोबल स्टकटेटिभ इभेन्ट अन एडप्सन विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त नेपाल विश्व समुदायको प्राथमिकतामा रहेको औँल्याउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्टिकामा परेको भन्ने अभिव्यक्ति कोप उद्घाटन समारोहमा दिएबाटै नेपाल विश्वकै नजरमा परेको स्पष्ट पार्नुभएको हो । 

नेपालले बढ्दो तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता पूरा गर्ने प्रधानमन्त्रीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले विगतका कोप सम्मेलनमा भएका निर्णय कार्यान्वयन अनुसारको जलवायु उत्थानशीलका लागि आवश्यक सहकार्य पर्खिरहेका छौँ ।” समय बित्दै गएकाले स्पष्ट कार्यदिशासाथ अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । नेपाललगायतका जोखिममा रहेका देशमा प्रविधि तथा समतामूलक उपायको पहुँचलाई सहज बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा पहिलो पटक स्थापना गरिएको नेपालको प्याभेलियन अवलोकन भ्रमण गर्ने क्रममा समग्र प्रतिनिधिमण्डलले एउटै आवाज र भावनामा अग्रसरता देखाउन निर्देशन दिनुभयो ।

उहाँले प्याभेलियनको गतिविधिबारे जानकारी लिँदै आफ्ना देशबारे विश्व समुदायका प्रतिनिधिलाई वास्तविकता उजागर गर्दै भविष्यमा त्यसको उपलब्धि हासिल हुने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मैले संयुक्त राष्ट्रसङ्घको महासभा र अन्य अन्तर्राष्ट्रिय मञ्च तथा भेटवार्तामा नेपालको हिमाल र पर्वतमा जलवायु परिवर्तनले पारेको असरबारे एउटै मत व्यक्त गरेको छु, त्यही स्पिरिटमा सबैले सबै सत्रमा देशको प्रतिनिधित्व गर्ने गरेर छलफल र बहस चलाउनुहोला ।” वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको जलवायु परिवर्तन महाशाखाका प्रमुख बुद्धिसागर पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले दैनिक प्याभेलियन पुगेर नेपालले गरिरहेको काम र भइरहेको प्रगतिबारे जानकारी लिने गर्नुभएको छ । कोपमा नेपालले पहिलो पटक आफ्नो प्याभेलियन राखेको हो । पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो, “राम्रो तयारी गर्नुहोला, यो अहिलेका लागि मात्र होइन, भविष्यको युवा पुस्तासम्मका लागि हुने गरी मैले काम गर्ने स्पिरिटसाथ आएको छु ।” उहाँले प्रधानमन्त्रीको निर्देशन अनुसार तयारी बलियो बनाइरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कोप–२८ को उच्चस्तरीय सत्रलाई शनिबार सम्बोधन गर्नुहुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले दुबईमा जि–७७ र चाइना समूहको बैठकमा पनि उच्चस्तरीय सहभागिता जनाउनुभएको छ । उहाँले सो बैठकमा नेपालले भोगिरहेको जलवायु परिवर्तनको प्रभाव कम गर्न र अनुकूलनमा आवश्यक वैदेशिक सहायताका लागि सघाउन अपिल गर्नुभयो । 

विकसित मुलुकले नेपालको हिमालमा परेको असरलाई ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । त्यसका लागि नेपालको छिमेकी मुलुक चीन, भारत र अन्य विकसित राष्ट्रको पनि ध्यानाकर्षण गराउनुभयो । 

भारतका प्रधानमन्त्रीसँग भेटवार्ता 

सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीबिच दुबईमा भेटवार्ता भएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले जाजरकोटको भूकम्पबाट पुगेको क्षतिप्रति दुःख प्रकट गर्नुभयो । त्यसका लागि छिमेकीका हैसियतमा भारतले गर्नुपर्ने सहयोगबारे आफ्नो धारणा राख्नुभयो । सो भेटवार्तामा छिमेकी मुलुकको आपसी सम्बन्ध थप प्रगाढ बनाउन आवश्यक पहलबारे पनि दुई उच्च नेतृत्वबिच गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले विभिन्न साइडलाइन बैठकलाई निरन्तरता दिनुभयो । सो क्रममा प्रधानमन्त्री प्रचण्ड र  क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेलीबिच उच्चस्तरीय भेटवार्ता भयो । भेटमा दुईपक्षीय हितका साथै भावी सहकार्यका विषयमा विचार आदान प्रदान भएको थियो ।