सिराज खान
नेपालगन्ज, कात्तिक ३ गते। देशका धेरैजसो पालिकामा प्लास्टिकका मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाइए पनि नेपालगन्जमा प्रतिबन्ध नलगाउँदा जताततै खुला रुपमा कृत्रिम फूल मालाको कारोबार भइरहेको छ।
भारतीय फूललाई विस्थापित गर्ने उदेश्यले बाँकेमा सयपत्री फूलको ठुलो मात्रामा खेती गरिए पनि भारतबाट ल्याइएका कृत्रिम फूल मालाको कारोबार खुला रुपमा भइरहेकोले सयपत्रीको बिक्री समेत प्रभावित भएको छ।
भारतीय सीमानासँग गाँसिएको नेपालगन्जका धेरै ठाउँमा अहिले कृत्रिम फूल माला बिक्रीका लागि राखिएका छन्।
प्लास्टिकको माला देखिँदा आकर्षक भए पनि यस्ता माला लगाउँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने ज्ञान धेरैलाई नभएकै कारणले पनि त्यस्ता मालाको बिक्री भइरहेको नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्लेले बताउनुभयो।
उहाँले यस पटक जिल्लामा सयपत्री फूलको उत्पादन उल्लेख्य मात्रामा भएकोले प्लास्टिकको माला प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो।
उता, फूलखेतीमा लाग्नु भएका स्थानीय व्यवसायीले भारतीय फूल र प्लास्टिकको मालाका कारण सयपत्री फूलको बिक्री प्रभावित हुँदै आएको जनाएका छन्।