• ३ कात्तिक २०८२, सोमबार

खानेतेलको पुनः प्रयोगमा सचेत हुन आवश्यक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ३ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारलक्षित बजार अनुगमनका क्रममा मिठाईमा अखाद्य वस्तुको प्रयोग गरेको नपाइएको जनाएको छ । विभागले तिहारमा बढी माग हुने मिठाई पसललाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशाला गाडी (मोबाइल फुड ल्याब भ्यान) मार्फत अनुगमन स्थलमै परीक्षण गराउँदा अहिलेसम्म गरिएकोमा ठुलो कैफियत नभेटिएको जनाएको हो । 

विभागको चार वटा मोबाइल फुड ल्याब भ्यानमार्फत उपत्यकाका चर्चित र बढी मिठाई बिक्री गर्ने रामेश्वर, आँगनलगायतका ४० वटा पसलमा स्थलगत अनुगमन गरी मिठाईको नमुना परीक्षण गर्दा अखाद्य रङ प्रयोग नभएको विभागले जनाएको छ । 

सरकारले तोके अनुसार मिठाई बनाउँदा प्रयोग गर्न पाइने खाद्य रङको प्रयोग सीमाभित्रै प्रयोग गरेको पाइए पनि भान्साको सरसफाइ र तेलको पुनः प्रयोग जस्ता विषयमा भने त्यति धेरै ध्यान नदिएकाले पुनः अनुगमन गर्ने गरी सुधार गर्न निर्देशन दिएको विभागका निर्देशक एवं प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तिहारमा खाइने अधिकांश खानेकुरा तेलबाट पकाइने हुनाले तेलको पुनः प्रयोगबारे धेरै सचेत हुनु पर्छ । 

पछिल्लो अनुगमनका बेला तेलको अत्यधिक मात्रामा पुनः प्रयोग गर्ने गरेको पाइएकाले त्यसबाट पकाएका खानेकुराबाट सचेत हुनुपर्ने खाद्य वैज्ञानिक जीवनप्रभा लामाले आग्रह गर्नुभयो । एक पटक सेलरोटी वा मिठाई पकाएको तेल बाँकी रहेको खण्डमा चिसो भइसकेपछि पुनः प्रयोग गर्दा त्यो स्वास्थ्यका लागि निकै हानिकारक हुने उहाँको भनाइ छ । 

मिठाईमा प्रयोग गरिने सबै प्रकारका रङ स्वास्थ्यका लागि हानिकारक नहुने भन्दै प्रवक्ता शर्माले आवश्यकताभन्दा बढी रङ प्रयोग गरेको खण्डमा त्यसले स्वास्थ्यलाई असर गर्ने भएकाले सचेत हुनु पर्छ भन्नुभयो । उहाँले बजारमा हिजोआज सरकारले तोके अनुसारकै मापदण्डभित्र रहेर रङ प्रयोग गरेर बनाइएका मिठाई पाइएको भए पनि सकेसम्म रङरहित मिठाई उपभोग गर्नु ठिक हुने बताउनुभयो । 

सार्वजनिक बिदामा पनि नियमित अनुगमन

विभागले सार्वजनिक बिदामा पनि मिठाई तथा डेरी उत्पादनको नियमित अनुगमन गर्ने जनाएको छ । निर्देशक शर्माले तिहारमा बढी खपत हुने मिठाई र डेरी उत्पादनलाई लक्षित गरेर निरन्तर अनुगमन हुने जानकारी दिनुभयो । बजारको अनुगमन भएन भने मिठाई उत्पादकले बदमासी गर्न सक्ने भन्दै उहाँले बिदामा अझै सक्रिय रूपमा अनुगमन हुन्छ भन्नुभयो । 

नौ लाख बराबरको खाद्यवस्तु नष्ट

विभागले पछिल्लो एक महिनामा नौ लाख रुपियाँ बराबरको खाद्यवस्तु जफत गरी नष्ट गरेको छ । विभागले परीक्षण गर्दा कैफियत भेटिएका गुणस्तरहीन नौ लाख चार हजार २०६ रुपियाँ मूल्य बराबरको खाद्यवस्तु जफत गरी नष्ट गरेको हो । 

सो अवधिमा ६२ थान प्रशोधित पिउने पानीका जार पनि नष्ट गरिएको छ । विभागले असोज ४ देखि कात्तिक १ गतेसम्म ल्याब भ्यान र छुट्टै टोलीमार्फत उपत्यकामा एक हजार ३९८ वटा खाद्य उद्योग, पानी उद्योग, मिठाई पसल, होटेल/रेस्टुरेन्टलगायत अनुगमन गरेको छ ।