• ३ कात्तिक २०८२, सोमबार

अलैँचीको मूल्य मनको अठासी हजार

blog

फुङलिङ नगरपालिकास्थित बिहीबारे टोलमा बगैँचाबाट टिपेको अलैँची छोडाउँदै किसान । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ३ गते । ताप्लेजुङमा दसैँपछि बढ्न थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ८८ हजार रुपियाँ पुगेको छ । दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँचीको मूल्य बढेर आइतबार ८८ हजार रुपियाँ पुगेको हो । 

स्थानीय व्यापारीका अनुसार पछिल्लो डेढ सातायता वृद्धि हुन थालेको अलैँचीको मूल्य आइतबारसम्म आठ हजार वृद्धि भई मनको ८८ हजार रुपियाँ पुगेको हो । निरन्तर मूल्यवृद्धि हुने क्रमसँगै आइतबार सदरमुकाम फुङलिङ बजारमा चलनचल्तीको अलैँची प्रतिमन ८८ हजार रुपियाँमा धमाधम कारोबार भइरहेको स्थानीय व्यवसायी कमल बरालले जानकारी दिनुभयो ।

व्यवसायी बरालका अनुसार पछिल्लो डेढ सातायता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँका दरले वृद्धि हुँदै आएको आइरहेको छ । गुणस्तरीय अर्थात् ठुलो दाना भएको अलैँचीको मूल्य भने प्रतिमन ९५ हजार रुपियाँभन्दा बढीमा कारोबार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भदौपछि बजारमा निस्किन थालेको अलैँचीको मूल्य सुरुमा पनि प्रतिमन ८८ हजार रुपियाँमै कारोबार भएको थियो । अलैँचीको नयाँ उत्पादन बजारमा आउन थाल्दा अर्थात् भदौभर प्रतिमन ८८ हजार रुपियाँसम्म नै कारोबार भएको थियो । 

फुङलिङ बजारका अलैँची व्यवसायी भद्रवी रेग्मीका अनुसार असोज लागेपछि भने अलैँचीको मूल्य घट्न थालेको थियो । दसैँअघिसम्म सुरुको मूल्य ८८ हजारबाट घटेर प्रतिमन ८० हजार रुपियाँमा पुगेको रेग्मीको भनाइ छ ।

अर्लैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका व्यवसायी रेग्मीका अनुसार एक हजार र दुई हजारका दरले मूल्य घटेर प्रतिमन ८० हजार रुपियाँ पुगेको हो । दसैँ सकिएपछि क्रमशः अलैँचीको मूल्यवृद्धि हुन थालेको र अहिले प्रतिमन ८८ हजार रुपियाँ पुगेको उहाँले बताउनुभयो ।