• ३ कात्तिक २०८२, सोमबार

धानको समर्थन मूल्य पाएनन् किसानले

blog

किसानले थ्रेसिङ गरेर राखेको धान। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, कात्तिक ३ गते। नेपाल सरकारले साउनमै धानको समर्थन मूल्य निर्धारण गरे पनि किसानले त्यो मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न पाएका छैनन् । 

सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरुले कार्यान्वयन नगरेपछि किसानले समर्थन मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न नपाएका हुन। 

नेपाल सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार ६२८ दशमलव ३३ रुपियाँ निर्धारण गरेको छ। तर, कैलालीको ग्रामीण क्षेत्रमा किसान सस्तो मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न बाध्य छन्। 

सरकारले तोकेको समर्थन मूल्यमा व्यापारीहरुले किसानको धान खरिद गर्न नमानेको कैलारी गाउँपालिका–७ का कृषक वीर बसन्त चौधरीले बताउनुभयो। उहाँले तिहार खर्च जुटाउनका लागि आइतबारप्रति क्विन्टल दुई हजार ३५० रुपियाँको दरले धान बिक्री गरेको उल्लेख गर्नुभयो। “यो वर्ष धान एकदम फ्रेस छ”, चौधरीले भन्नुभयो,“तर, व्यापारीले सस्तोमा खरिद गरिरहेका छन्।”

किसानले चाडपर्व खर्च लगायत तोरी छर्न मलको जोहोका लागि धान बिक्री गरिरहेका छन्। मूल्य नपाए पनि गुजारा नचलेकाले सस्तोमा धान बिक्री गर्न बाध्य रहेको अर्का कृषक लेदुराम चौधरीले बताउनुभयो। उहाँले सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारीले समर्थन मूल्यभन्दा झन्डै एक हजार कम मूल्यमा धान खरिद गरिरहेको उल्लेख गर्नुभयो। 

व्यापारीले गाउँ गाउँमा काँटा खोलेर किसानको धान खरिद गर्न सुरु गरेका छन्। यसैबिच, जिल्ला प्रशासन कार्यालय कैलालीले समर्थन मूल्यमा धान खरिद गर्न, गराउनका लागि व्यापारी र कृषकलाई अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लामिछानेले सार्र्वजनिक सूचना जारी गर्दै सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न अनुरोध गर्नु भएको हो। प्रशासनले सरकारको निर्णय कार्यान्वयन गराउनका सबै पालिकालाई आग्रह गरेको छ।