• ११ पुस २०८१, बिहिबार

श्रमिकको दैनिक एक्स–रे गर्ने हीराखानी

blog

दक्षिण अफ्रिकामा कुनै समय हीरा खानीमा काम गर्ने श्रमिकले हरेक दिन एक्स–रे गराउनु पर्दथ्यो । श्रमिकको स्वास्थ्यको अवस्था जान्न होइन शरीरमा हीरा लुकाएको त छैन भनी पक्कापक्की गर्न प्रत्येक दिन उनीहरूको एक्स–रे गरिन्थ्यो ।

सन् १९५४ मा दक्षिण अफ्रिकाको किम्बर्लेमा रहेको डी बियर्स हीरा खानीमा काम गर्ने श्रमिकले आफ्नो पालो सकाएर घर फर्कने बेला त्यहीँ रहेका रेडियोलोजिस्टले उनीहरूको एक्स–रे गर्दथे । सानो भन्दा सानो हीरा पनि झुक्याएर खानीबाट बाहिर लैजान नसकियोस् भनेर हरेक श्रमिकलाई एक्स–रेबाट गुज्रनु पर्दथ्यो । अधिकारीहरू श्रमिकले निलेर हीरा तस्करी गर्न सक्ने आशङ्का गर्दथे । एक्स–रेबाट पेटमा हीरा भए, नभएको स्पष्ट देख्न सकिन्थ्यो ।

सन् १८६७ मा पहिलो पटक दक्षिण अफिकामा हीरा खोजिएको थियो । डेनियल जेकब नामका एक किसानका छोराले अरेन्ज नदीको किनारामा चम्किला ढुङ्गा ठानेर हीरा सङ्कलन गरेका थिए । छिमेकी गाउँका अन्य बालबालिकाले समेत खेल्नका लागि ती चम्किला ढुङ्गा प्रयोग गर्दथे । चाँडै नै छिमेकी साल्क भान निकरको नजर ती चम्किला ढुङ्गामा प¥यो र उनले पैसा दिएर एउटा किन्ने प्रस्ताव राखे ।

ती बालककी आमा यो कुरा सुनेर हाँसिन् र किन चाहियो समेत भनिन् तर पनि उनले निकरलाई एउटा चम्किलो ढुङ्गा दिइन् । निकरले त्यो ढुङ्गा अन्य केही मानिसलाई देखाएर त्यसको केही मूल्य हुन सक्छ कि भनेर सोधे तर कसैले पनि आफ्ना सुझावबाट निकरलाई विश्वास दिलाउन सकेनन् । त्यस चम्किलो ढुङ्गाको महत्व बुझ्न निकरले धेरै भौँतारिनु परेको थियो । त्यसपछि निकरले एक जना भौतिक तथा भूगर्भशास्त्री डब्लु जी आर्थिस्टनलाई सो ढुङ्गा दिए । आर्थिस्टनले प्रयोगशाला परीक्षणपछि निष्कर्ष निकाले– चम्किलो ढुङ्गा २१.२५ क्यारेट हीरा हो ।

त्यस हीराबारे त्यहाँका राज्यपाल केप कोलेनोले थाहा पाए । त्यसपछि उनले त्यस हीरालाई पाँच सय पाउन्डमा खरिद गरे । कोलेनोले खरिद गरेको चम्किलो ढुङ्गा त हीरा भएको खबर रातारात त्यस क्षेत्रमा फैलियो । दूरदर्शीले धनी बन्ने आशामा हीरा सङ्कलन गर्न सुरु गरिहाले । सुरुमा व्यक्तिगत र सामूहिक रूपमा हीरा सङ्कलन गर्न थालिएको थियो । पछि बेलायतका सेसिल जे. रोड्स र बार्नी बर्नेटोले त्यस क्षेत्रको हीरा सङ्कलन गर्न खानीहरू खरिद गरे ।

सन् १८८८ मा उनीहरूले आआफ्नो हिस्सेदारी मिलाएर ‘डी बियर्स कन्सोलिडेटेड माइन्स लिमिटेड’ कम्पनी स्थापना गरेका थिए । त्यस कम्पनीको मुख्य कार्यालय किम्बर्लेमा स्थापना गरियो । उनीहरूको हीरा खानीमा काम गर्ने अधिकांश श्रमिक अश्वेत आप्रवासी थिए ।

बेलायती उपनिवेशवादीहरूले ती अश्वेतको जमिन कब्जा गरेका कारण उनीहरू भूमिहीन थिए र जीविकाका लागि उनीहरूले मजदुरी गर्न पर्दथ्यो । काम पनि सजिलै नपाइने अवस्थामा खानी सञ्चालनमा आएपछि टाढा टाढाबाट अश्वेतहरू हीरा खानीमा काम गर्न आए, उनीहरूसँग अन्य विकल्प पनि थिएन ।

सन् १८९७ देखि १८९९ सम्म हीरा खानीमा भएका दुर्घटना र रोगले गर्दा एक हजारभन्दा बढी अश्वेत श्रमिक मरेका थिए । वास्तवमा दक्षिण अफ्रिकामा रङ्गभेदले यी किम्बर्लेबाट जरा गाड्न सुरु गरेको थियो । जहाँ समुदायलाई जातीय आधारमा विभाजित गरियो तथा गैरजातीय विवाहमा कानुन बनाएरै प्रतिबन्ध लगाइयो ।

किम्बर्लेका केही सार्वजनिक क्षेत्र युरोपेलीका लागि मात्र तोकिएको थियो । यस्तो रङ्गभेदी अवस्थामा श्रमिकले खानीबाट हीरा चोर्ने सम्भावना देखेर गोरा मालिकले पालो सकाएर खानीबाट बाहिर जाने प्रत्येक श्रमिकको हरेक पटक एक्स–रे अनिवार्य गरेका थिए । प्रत्येक दिन एक्स–रे गर्दा शरीरमा त्यसको विकिरणले परेको प्रभावको कुनै लेखाजोखा छैन । कुपोषण, रोग र भोकले श्रमिक मरेको मात्र देखियो । शरीरमा एक्स–रेले पार्ने असर बारेमा कुनै वास्ता गरिएन । आधुनिक विज्ञानले मानव शरीरमा एक्स–रेले पार्ने असरको बयान गरेको छ । á

–युवामञ्च