• ३० कात्तिक २०८२, आइतबार

नेपाल खानेपानी संस्थान राजविराजमा तालाबन्दी

blog

नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गर्दै जेनजीका प्रतिनिधि । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, कात्तिक ३० गते । जेनजीको एक समूहले आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेका छन् । जेनजीका मो. मुस्तिकम आलमको नेतृत्वमा गएको जेनजीको एक समूहले तालाबन्दी गरेका हुन् ।

यसअघि गत शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाडाैंलाई ज्ञापनपत्र बुझाउँदै युवाहरूले कार्य कुशल भएका निमित्त प्रमुख राजाराम यादवलाई  सरुवा गरी संस्थानलाई नेतृत्वविहीन गरी कामकाज प्रभावित गर्ने खेल स्वीकार्य नहुने उल्लेख गरिएको थियो । प्रजिअ टुवराज पोखरेललाई युवाहरूद्वारा बुझाइएको ज्ञापनपत्रमा पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरवासीले ठूलो मार खेप्नुपरेको भनिएको छ । 

कोही १८ वर्षदेखि डेरा जमाएर बस्ने र कार्यालय र जनहितको पक्षमा काम गर्ने कर्मचारीलाई सरुवा गर्नुमा ठूलो चलखेल भएको बताउँदै नेपाल खानेपानी संस्थानका महानिर्देशकलाई पठाइएको ज्ञापनपत्रमा कार्यलय प्रमुख यादवलाई यथावत् राख्न जोडदार माग गरिएको छ । उक्त माग पूरा नभएको भन्दै जेनजीले तालाबन्दी गरेको सहभागी रितेश साहले जानकारी दिनुभयो।