• ३० कात्तिक २०८२, आइतबार

चार महिनामा सवारी दुर्घटनाका कारण १७ को मृत्यु

blog

बनियानी (झापा), कात्तिक ३० गते । पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । 

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

 ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् ।

असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन् ।प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटनामा सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् । 

तीमध्ये दुईपाङ्ग्रे तीन सय २६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीनवटा सवारीसाधन रहेका उहाँले जानकारी दिनुभयो । 

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्नेछ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । 

कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो ।

सोबापत कार्यालयले रु. ५९ लाख ८१ हजार ५३३ राजस्व सङ्कलन गरेको छ ।रासस