• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितलाई सहयोग गर्न आग्रह

blog

काठमाडौँ, कात्तिक २० गते । जाजरकोट भूकम्पपीडितलाई राहत र घाइते उद्धारमा जुट्न कलाकारले आग्रह गरेका छन् । उनीहरूले सबै कलाकारलाई आफूहरूले सकेको सहयोग गर्न आग्रहसमेत गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारीले सामाजिक सञ्जालमार्फत आफूसँग भएको पाँच हजार ७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाउनुभएको छ । 

चलचित्र निर्माता कम्पनी आसुसेन फिल्म्सले आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५०० रुपियाँ जम्मा गरेको छ । सामाजिक सञ्जालमार्फत निर्माता सन्तोष सेनले चाँडै चलचित्रको एक टोली प्रभावित क्षेत्रमा राहत वितरणका लागि पुग्ने र यसबारे सरकारसँग समन्वय गर्ने बताउनुभयो ।

त्यस्तै गायक सञ्जय श्रेष्ठले आगामी गीत ‘देउसी रे’ को युट्युबको कमाइलाई भूकम्प प्रभावितको सहयोगार्थ प्रदान गर्ने बताउनुभएको छ । कलाकार दीपकराज गिरी लेख्नुहुन्छ, “जाजरकोट र रुकुम दुखेको छ ! आआफ्नो क्षमता अनुसार मलम लगाऔँ ।” त्यस्तै नायिका स्वस्तिमा खड्काले नेताहरूलाई अनुरोध गर्दै भन्नुभएको छ, “तपाईंहरू उड्ने हेलिकोप्टरमा उद्धारकर्मी र राहत सामग्री पठाइदिनूस् । पीडितलाई तपाईंहरूको अनुहारभन्दा उद्धारकर्मी र राहतकर्ताको अनुहार आफ्नो लाग्छ ।” हास्य कलाकार मनोज गजुरेलले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै उहाँले पीडितलाई तत्काल राहत र उद्धारका लागि सबैसँग अनुरोधसमेत गर्नुभएको छ ।  

गायक प्रमोद खरेल, राजेशपायल राईले सरकार र सक्ने जति सबैले उद्धार कार्यमा हातेमालो गर्न आग्रह गर्नुभएको छ । अभिनेता दयाहाङ राई, निर्देशक निश्चल बस्नेत, निर्मल शर्मासहित कलाकारले सामाजिक सञ्जालमा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

मिथिला शर्मा लेख्नुहुन्छ,  “दुःखद खबर ! रुकुम र जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनुभएका दिवङ्गत सबैमा हार्दिक श्रद्धाञ्जली र घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु । साथै उद्धार तथा राहतको कार्य युद्धस्तरमा होस् भनी सरकारसँग अनुरोध गर्छु  । अभिनेतृ करिश्मा मानन्धर तत्काल राहत, उपचार र उद्धार कार्यमा कमी नहोस् भनेर लेख्नुहुन्छ ।  घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुहुन्छ ।