• ११ मंसिर २०८१, मङ्गलबार

‘पशुपतिप्रसाद २ : भस्मे डन’ भस्मेमाथि नागा हाबी

blog

काठमाडौँ, कात्तिक १५ गते । अभिनेता खगेन्द्र लामिछानेको मृत्युपछि भस्मे डन अर्थात् विपिन कार्कीको जीवनमा आएको उतारचढावको कथा हो, ‘पशुपतिप्रसाद २ : भस्मे डन’ । ‘पशुपतिप्रसाद’ सकिएपछिको सिक्वेलका रूपमा चलचित्र निरन्तर रूपमा अघि बढ्छ । सात वर्षमा भस्मे डनभित्र धेरै कुरामा परिवर्तन आएको छ । पशुपतिप्रसाद खकुरेलको मितबा अब भस्मे डनको बा बनेका छन् । क्यान्डी क्रस खेल्ने भस्मेमा प्राविधिक परिवर्तन आएको छ । अब उनी पब्जी खेल्ने भएका छन् । उनलाई आफूलाई जन्माउने बुवाआमाको पत्ता लगाउनु छ र नागरिकता बनाएर आफ्नो पहिचान बनाउनु छ । त्यसबाहेक सधैँ जीवनमा झैझगडामा मात्र अल्झिरहने भस्मे अब आफैँ केही राम्रो व्यवसाय सुरु गरेर टन्न पैसा कमाउने सुरसारमा छन् । 

भस्मेका यी सबै सपना तब चकनाचुर हुन्छ जब चलचित्रमा कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को प्रवेश हुन्छ । अघिल्लो चलचित्रमा भस्मे पशुपतिप्रसादसँग हाबी भए जस्तै यस पटक नागा भस्मेमाथि हाबी देखिएका छन् । चलचित्रमा अचानक नागाको प्रवेश हुन्छ र उनले अनेकन तिकडम रचाएर भस्मेलाई बरबाद बनाएरै छाड्छन् । उनले पनि रकम अभावमा आफ्नी छोरीको अन्तिम संस्कारसमेत गर्न नपाएको पीडा बेहोरिरहेका हुन्छन् । अस्पताललाई बुझाउनुपर्ने १५ लाख रुपियाँको जोहो गर्न उनी पशुपति क्षेत्रमा आफूलाई डनका रूपमा उभ्याउन बाध्य बनेका हुन्छन् । 

यता डान्सबारमा काम गर्दागर्दै त्यहाँको पीडा सहन नसकेर पशुपतिनाथ परिसरमा आएकी मैना दुर्गामाता (स्वस्तिमा खड्का) ले जसरी मान्छेलाई महिलाको आवरणमा लुट्न सजिलो हुन्छ, त्यसरी नै माताको रूप लिएर त्यही मान्छेबाट रकम असुल्न सकिन्छ भन्ने कुरालाई प्रस्तुत गरेकी छन् । दुर्गा मातालाई भस्मे डनले धेरै नै पुज्ने गर्छन् । उनले भित्रभित्रै उनलाई मन पराइरहेका हुन्छन् । दुवैबिच माया पलाउन सुरु मात्र गरेको हुन्छ तर समयले भस्मेलाई साथ दिँदैन । 

चलचित्रमा भस्मे डनले नागरिकता पाउँछन् कि 

पाउँदैनन् ? उनले आफ्ना बाबुआमा पत्ता लगाउँछन् कि लगाउँदैनन् ? बाबुआमा पत्ता लगाउनकै लागि उनले मोटो रकम प्रशासकलाई बुझाउनुपर्ने बाध्यताले गाँजेको हुन्छ । समाजमा भ्रष्टाचारले कमजोर वर्गलाई कसरी निमोठिरहेको हुन्छ भन्ने कुरा चलचित्रमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । दुर्गामातासँगको उनको प्रेम किन सफल हुँदैन र कालीप्रसाद र भस्मेको द्वन्द्वले कस्तो रूप लिन्छ भन्ने कुरा नै चलचित्रको मुख्य कथामा देखिने विषय हो । 

पर्दामा भस्मे आउँदा पशुपतिप्रसादको भस्मे याद आउँछ । उसका अघिपछि डुल्ने साथीहरू सबै केही उही छन्, केही फरक । उनीहरूले आफ्नो अभिनयमा न्याय गरेका छन् । भस्मेका बा बनेका प्रकाश घिमिरेको चरित्रले जतिखेरै दर्शकको ध्यान तान्छ । कालीप्रसाद उर्फ सौगातको अभिनय मौलिक र फरक खालको छ । यस पटक सौगातका अगाडि विपिनको अभिनय केही फिक्का जस्तो लाग्छ । सधैँ एउटै शैलीको अभिनय गर्न रुचाउने सौगातले यस पटक अवश्य दर्शकबाट राम्रो प्रतिक्रिया पाउने छन् । 

त्यस्तै ‘पशुपतिप्रसाद’ मा हनुमान बनेका वैकुण्ठ (रवीन्द्रसिंह बानियाँ) को अभिनय चलचित्रमा सानै 

भए पनि उनले नै चलचित्रलाई क्लाइमेक्समा पु¥याउने काम गर्छन् । छोराको खोजीमा रहेका शिलाजित बेच्ने चन्द्रबहादुर (लोकेन्द्र लेखक) को अभिनयले पनि धेरै कुराको रहस्य बोकेको छ । 

समग्रमा चलचित्र राम्रो बनेको छ । चलचित्रले अवश्य दर्शकलाई निराश बनाउँदैन । निर्देशकले तेस्रो शृङ्खला पनि बनाउने पक्का चलचित्रको अन्तिममा गरिसकेका छन् । यसैले दोस्रो श्रृङ्खलामा दिन नसकेका कैयौँ प्रश्नको जवाफ तेस्रो शृङ्खलाले दिने छ भन्ने कुरामा धेरै दर्शक आशावादी देखिन्छन् । विपिन र सौगातको संवादले दर्शकलाई हँसाउँछ र बाँधेर पनि राख्छ । हाम्रै परिवेशका कथालाई निर्देशक दीपेन्द्र के खनालले मन छुने किसिमले चलचित्रमा पस्केका छन् । चलचित्र चल्नका लागि एक्सन, गीत सङ्गीत चाहिन्छ भन्ने फर्मुलाबाट पर छ, भस्मे डन । चलचित्रले दर्शकलाई हँसाउँछ र हँसाउँदा हसाउँदै रुवाउँछ । निर्देशकले प्रशंसनीय काम गरेका छन् । गीत, एक्सनबिना नै दुई घण्टासम्म निर्देशकले दर्शकलाई बाँधेर राख्ने खुबी देखाएका छन्; जुन तारिफयोग्य छ । 

चलचित्र राम्रा कुराले मात्र भरिएको छैन, चलचित्रभित्र केही कमजोरी पनि छन् । निर्देशकले यसमा पनि भस्मे डन र नागाको भूमिकालाई मात्र धेरै माथि उठाउन खोजेका छन् । यसले गर्दा अन्य कलाकारको अझ विकास हुन नसकेको हो कि ? भस्मे डन किन हनुमानसँग डराउँछ ? यसको पृष्ठभूमि अघिल्लोमा जस्तै यसमा पनि खुलाइएको छैन । यो कुरा प्रस्ट्याइदिएको भए चलचित्र अझ राम्रो हुन्थ्यो कि ?