• २२ वैशाख २०८१, शनिबार

अन्नको रङले लोभिए कलाप्रेमी

blog

काठमाडौँ, कात्तिक १४ गते । जापानका कलाकार क्योयुको रिकोले चित्रकलामा अन्नको प्रयोगले रङ भर्नुभएको छ । जुन कला धेरैका लागि आकर्षणको केन्द्र बन्न पुग्यो । उहाँले धानका एकनासका दानालाई रङ्गाएर जापानी महिलाले प्रयोग गर्ने परम्परागत पहिरन, कुखुराको भाले, फुजी हिमाल बनाउनुभएको छ । त्यसै गरी सोही माध्यमबाट रिकोले जापानी गाउँको परम्परागत घर, प्राकृतिक सुन्दरताले सम्पन्न गाउँबस्तीको निक्कै आकर्षक चित्र बनाउनुभएको हो । 

राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ, जापानको होसेल विश्वविद्यालय र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित तीनदिने चित्रकला प्रदर्शनीमा उक्त चित्रहरू राखिएका छन् । नेपाली कलाकार प्रतिज्ञ शाक्यले पनि भौतिक पहुँचको अभावमा अपाङ्गता भएका व्यक्तिले स्कुल, अस्पताललगायत विविध ठाउँमा भोग्नु परेको कष्टलाई चित्रमा बयान गर्दै समतामूलक समाज निर्माणका लागि आवश्यक वातावरणबारे सिर्जनामार्फत नै माग गर्नुभएको छ । 

उहाँको श्रवणशक्तिविहिन  व्यक्ति हुनुहुन्छ, आफू जन्मदै श्रवणशक्ति नरहेको र हुर्कंदै गर्दा भौतिक पहुँचको अभावमा भोग्नु परेको दुःख कष्ट आज पनि छ भन्दै त्यस्ता व्यक्तिलाई सञ्चारका लागि सङ्केतसहितको सुविधा पनि पाउनुपर्ने चित्रबाटै सन्देश दिनुभएको छ ।

भक्तपुरको दरबार स्क्वायरमा रहेको वैशाख १ गतेका दिन मात्रै पुजिने गणेश, बुद्धलाई खिर दिइरहेको, पशुपतिनाथलगायत थुपै्र देवदेवी र धार्मिक आख्यान झल्काउने चित्रहरू यस प्रदर्शनीमा समावेश छन् ।  

 नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले सोमबार नेपाली र जापानी कलाकारले सिर्जना गर्नुभएको धार्मिक, सामाजिकलगायत विविध सन्देशमूलक चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । सो अवसरमा कुलपति हार्तमछालीले ललितकलाले हरेक क्षमताका व्यक्तिलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।  

उहाँले प्रतिष्ठानको आगामी कार्ययोजनामा नेपालका सीमान्तकृत, लोपोन्मुख वर्ग र अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरी कार्यक्रम समावेश गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । प्रतिष्ठानको चित्रकला विभाग प्रमुख एवं प्राज्ञ सन्जय वान्तवाले चित्र बनाउने रुचि भएका व्यक्तिलाई शिक्षा, सिप दिने अवसर प्रदान गर्न सके सिर्जनाको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूले देशको नाम चम्काउने र आत्मनिर्भर बन्ने बताउनुभयो । 

उहाँले अपाङ्गता भएका व्यक्तिको रुचिलाई चिनेर परिवार, समाज र समुदायले अवसर र समान व्यवहार गरे चित्रकलाको माध्यम यस वर्गका व्यक्तिका लागि वरदान सावित हुने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका महासचिव सुगम भट्राईले आफू जस्तै न्यून दृष्टि र दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले पनि चित्रको भाव र सन्देश बुझिने गरी ब्रेललिपीमा पनि चित्र बनाउने अभ्यास गर्न कलाकारलाई आग्रह गर्नुभयो ।

प्रदर्शनीमा कलाकारहरू राघव पोखरेल, सुन्दर श्रेष्ठ, रश्मि शाक्य, रमेश वाराहीलगायतका नेपाली कलाकारका सिर्जना राखिएका छन् भने प्राध्यापक सान साको नेतृत्वमा जापानी कलाकारको नौलो माध्यमबाट बनाइएका सात वटा चित्र पनि छन् ।