राजकुमार भट्टराई
खोटाङ, वैशाख ९ गते । खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ । जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो ।
८७ मिटर लम्बाई र ५७ मिटर चौंडाई भएको क्रिकेट मैदान खोटाङ जिल्ला क्रिकेट सङ्घको पहलमा निर्माण गरिएको छ । आठ रोपनी जग्गा व्यवस्थापन गरेर कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त ८ लाखमा ‘लफ्याङ सिरान क्रिकेट खेल मैदान’ क्रिकेट खेल मैदान निर्माण गरिएको खोटाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले बताउनुभयो । नयाँ पुस्तामा क्रिकेट खेलप्रति रुची जगाउने, क्रिकेटको प्रवद्र्धन गर्ने र ग्रामिण क्षेत्रमा क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल मैदान निर्माण गरिएको उहाँको भनाइ छ ।
क्रिकेट खेल मैदान निर्माणका लागि अघि सरेको क्रिकेट सङ्घलाई स्थानीय मझुवा सेवा समाजमा आबद्ध स्थानीयले ५ रोपनी ८ आना जग्गा किनिदिएका छन् । यस्तै, डाँडाबारीका गोबिन्द कट्वालले एक रोपनी, खड्गबहादुर कट्वालले एक रोपनी र धनमायाँ कट्वालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका छन् । यस्तै, खेल मैदानसम्म पुग्ने करिब ८५ मिटर सडक निर्माणका लागि स्थानीय ताराकुमार कट्वालले पनि निःशुल्क जग्गा उपलव्ध गराएका छन् ।
क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी १ लाख १० हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलव्ध गराइएको मझुवा सेवा समाजका सदस्य भुपराज कट्वालले बताउनुभयो । सदस्य कट्वालका अनुसार क्रिकेट खेल मैदान बनाउनका लागि जग्गा खरिद गर्न मझुवा सेवा समाजका सदस्यबीचबाट सहयोग सङ्कलन गरिएको छ । गाउँबिचको खेतीयोग्य जग्गामा क्रिकेट खेल मैदान बनाउनका लागि वडा कार्यालयले सहजीकरण गरेको थियो । खेल मैदानका लागि थप ६ रोपनी जग्गा जुटाउनकालागि पहल गर्ने वडाध्यक्ष दिनेश घिमिरेले बताउनुभयो ।
खोटाङ जिल्ला क्रिकेट सङ्घ गठन गरेर केही समय अघिदेखि विभिन्न गतिविधि गर्दै आए पनि हालसम्म नेपाल क्रिकेट संघको आधिकारिक सदस्यता भने पाएको छैन् । १४ जिल्ला रहेको कोशी प्रदेशमा हालसम्म ५ वटा जिल्लाले मात्र सदस्यता पाएका छन् । क्यानको आधिकारिक सदस्यता पाउनको लागि विभिन्न आधारभूत कुराहरू पूरा गर्नु पर्ने भएकाले खेल मैदान निर्माण गरिएको अध्यक्ष खोटाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष राईको भनाइ छ । सदस्यता प्राप्तका लागि सबै कुरा तयार गरेर पेस गरिएको छ । केही समय पश्चात खोटाङले क्यानको सदस्यता पाउने उहाँले बताउनुभयो ।
क्यानको सदस्यता प्राप्त गरे पश्चात जिल्लामा थप क्रिकेटका गतिविधिहरू बढाउने राईले बताउनुभयो ।