• ७ वैशाख २०८२, आइतबार

दुई जनालाई अनुसन्धान वृत्ति प्रदान

blog

काठमाडौँ, वैशाख ७ गते । प्रा. डा. उर्मिला प्याकुरेलको दोस्रो स्मृति सभाका अवसरमा प्रा. डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले दुई अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान गरेको छ । 

गणितको व्यावहारिक प्रयोगको क्षेत्रमा अनुसन्धानमा संलग्न रहेकै बेला दुई वर्षअघि निधन हुनु भएकी त्रिभुवन विश्वविद्यालयकी कान्छी प्राध्यापक उर्मिला प्याकुरेलको स्मृतिमा खोलिएको प्रतिष्ठानले उहाँकै अनुसन्धानलाई निरन्तरता दिएका डा. दुर्गा खनाल र डा मोहनचन्द्र अधिकारीलाई अनुसन्धान वृत्ति प्रदान गरिएको हो । 

सडक यातायातको जाम घटाउने वैकल्पिक विधिबारे गरिएका उहाँहरूका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशनको व्रmममा छन् । 

त्यसै अवसरमा प्रा.डा. उर्मिला प्याकुरेलको सम्झना स्वरूप निकालिएको स्मृतिमा उर्मिला नामक स्मारिकाको पनि विमोचन गरियो । उर्मिला प्याकुरेलको प्राज्ञिक तथा मधुश्री नामको उहाँको साहित्यिक जीवनका विविध पक्ष समेटिएका ३५ वटा लेख स्मारिकामा सङ्गृहित छन् । 

समारोहका प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटाले उर्मिला प्याकुरेलले सडक जाम खुलाउन खोलेको गणितको बाटोलाई राज्यका नीतिमा जोडिने बताउनु भयो । त्यस व्रmममा उहाँले प्रतिनिधि सभाको पूर्वाधार समितिमा सडक सुरक्षा विधेयकबारे भइरहेको छलफलमा समेट्ने आश्वासन पनि दिनुभयो । 

प्रतिष्ठानका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमलाले उर्मिलाले देखाएको बाटोमा गरिने अनुसन्धानहरूलाई प्रोत्यासह स्वरूप वृत्ति प्रदान गरिएको बताउनु भयो । उहाँले साहित्य र स्वास्थ्यको क्षेत्रमा पनि प्रतिष्ठानले काम गर्ने उल्लेख गर्नुभयो । 

बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठले नेपालमा अनुसन्धान र विकासका कमै प्राथमिकता दिइनु दुर्भाग्य रहेको बताउनु भयो । 

त्यस अवसरमा काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा.डा. कन्हैया झा, उर्मिलाले प्रारम्भिक शिक्षा आर्जन गरेको सिन्धुपाल्चोकको बाघ भैरव माविका तत्कालीन प्रअ शिवप्रसाद न्यौपाने, योग प्रशिक्षक बिन्दा आचार्य, नेपाल जर्मन प्राज्ञिक सङ्घका अध्यक्ष डा. बबिता पौलेल लगायतले प्राडा. उर्मिलाका विविध आयामबारे चर्चा गर्नुभएको थियो ।