• १८ चैत २०८२, बुधबार

किसानलाई माटो परीक्षण गर्न आह्वान

blog

काठमाडौँ, चैत १८ गते । कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ । विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माटो परीक्षणका लागि किसानलाई आह्वान गरेको हो ।  

माटोमा औषत २.५९ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ । किसानलाई नजिकका कार्यालयमा प्राविधिकको सल्लाह लिएर गुणस्तर वृद्धि गर्न भनिएको छ ।

विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ । गत वर्ष ३६.९ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६।४ प्रतिशत माटोमा उच्च मात्रामा प्राङ्गारिक पदार्थ पाइएको थियो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय माटोले सहयोग पुग्ने बताउँदै करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको जानकारी दिनुभयो । 

पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको छ । गत वर्ष करिब ५३ प्रतिशत माटो अम्लीय, करिब ३३ प्रतिशत माटो तटस्थ र करिब १४ प्रतिशत माटो क्षरीय प्रकृतिको पाइएको थियो । गतवर्ष नेपालको माटोमा औषत २.७७ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको विभागले जनाएको छ । 

नेपालमा प्रति वर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको जनाइएको छ । रासस