• ९ वैशाख २०८२, मङ्गलबार

वैदेशिक रोजगार

करिब आठ लाखलाई श्रम स्वीकृति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ९ गते । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब आठ लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८१ को वैशाखदेखि चैतसम्म सात लाख ९४ हजार ८४५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ११ हजार ४२३ जना थियो । जुन २०८० भन्दा २०८१ सालमा ८३ हजार ४२२ जनाले बढी हो ।

विभागका अनुसार २०७९ चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ । विभागका अनुसार यस वर्षको सो अवधिमा सबैभन्दा धेरै चैतमा ७३ हजार ४०३ जना र सबैभन्दा कम असोजमा ५३ हजार ५२५ जना बिदेसिएका छन् । यस्तै जेठमा ७२ हजार ८७१ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५८ हजार ७३६ जना, साउनमा ५९ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा उल्लेख छ । 

विभागका अनुसार भदौमा ५७ हजार ४९३, कात्तिकमा ७० हजार ९९०, मङ्सिरमा ६८ हजार ९६३, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

युएई पहिलो श्रम गन्तव्य

२०८१ सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ९४ हजार ८४५ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि मात्र करिब दुई लाख जनाले श्रम स्वीकृति लिएका छन् । युएई अघिल्लो वर्षदेखि लगातार नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश हुुन सफल भएको छ । विभागका निर्देशक टीकाराम ढकालले गत वर्षदेखि लगातार युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । पछिल्ला वर्षमा युएईमा पर्यटन, उत्पादन र सेवासम्बन्धी रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकका लागि नयाँ नयाँ अवसर सिर्जना गरेसँगै युएईमा नेपाली श्रमिकको माग बढेको उहाँको भनाइ छ । 

यस अवधिमा नेपालीको दोस्रो र तेस्रो श्रम गन्तव्य देश क्रमशः साउदी अरब र कतार रहेका छन् । अघिल्लो वर्ष दोस्रो कतार र तेस्रो साउदी अरब थिए । दुई वर्षअघि पहिलो श्रम गन्तव्य देश रहेको मलेसिया यस अवधिमा भने पाँचौँ स्थानमा रहेको छ । चौथो स्थानमा कुवेत रहेको विभागले जनाएको छ । 

विभागका अनुसार यस वर्ष असोजबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५५ हजारभन्दामाथि नाघेको छ । असोजमा नेपालीको चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम देखिएको हो । 

विप्रेषण पनि बढ्यो

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन महिना) सम्म साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ । यस अवधिसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको केन्द्रीय बैङ्कले जनाएको हो ।  त्यसै गरी समीक्षा अवधिमा चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । यो अवधिमा आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैङ्कले जनाएको छ ।