केशबराज भट्ट
बैतडी, वैशाख ९ गते । सुदूरपश्चिमका पहाडी गाउँमा चिउरी र तोरी पेल्न प्रयोग हुने ‘कोल’ लोप हुन थालेको छ । परम्परागत साधन लोप हुँदै गएपछि ग्रामीण भेगका चिउरी कृषकले समस्या खेप्नु परेको सुर्नया २ का मोहनबहादुर विष्टले बताउनुभयो ।
तेल पेल्न प्रयोग गर्दै आएका यहाँका कृषक कोल लोप हुँदै गएपछि वैकल्पिक तेल पेल्ने उपकरणको अभावले कृषक मर्कामा परेका विष्टले बताउनुभयो । स्थानीय स्रोत साधनको प्रयोगबाट बन्ने हुँदा खर्च नहुने र तेल पनि शुद्ध हुने भएकाले सुदूरपश्चिमका ग्रामिण भेगमा परम्परादेखि काठका कोल सञ्चालनमा रहँदै आएको दोगडा केदार ५ का राजेन्द्र भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, "गाउँ घरमा स्थानीय कालिगढले आफैँ कोल निर्माण गर्ने भएकाले गाउँमा धेरै जनासँग कोलहरू हुन्थे तर पछिल्लो समय गाउँघरमा बिरलै देख्न सकिन्छ ।" कोलहरु सरल र सहज हुँदाहुँदै पनि काठको अभावमा विस्थापित गरिदा ग्रामिण भेगका बासिन्दाहरूले चिउरी, तोरी लगायतका वस्तु पेल्न नपाएको सिगास ६ का धनस्याम धामीले बताउनुभयो । कति स्थानमा ग्रामिण ऊर्जा विकास कार्यक्रमले बिजुली निकाली तेल पेल्ने मेसिनहरू स्थापना गरेपनि चिउरी पेल्न परम्परागत कोल उपयुक्त भएको धामीले बताउनुभयो ।
बैतडी, बझाङ, दार्चुला र डडेल्धुरा लगायतका पहाडी भेगमा चिउरीको घ्यू उत्पादन गरि कृषकले राम्रो आम्दानी गर्दै आएका छन् । बैतडीको सिगास, दोगडाकेदार, दशरथचन्द नगरपालिका यस्तै डोटीको जोरायल, बझाङको छान्ना तथा दार्चुलाको मार्मा क्षेत्रमा हजारौं किलो चिउरी उत्पादन हुने स्थानीय कृषकहरू बताउँछन् । चिउरीबाट घिउ, गुड उत्पादन गरेर तथा फूल फुल्ने मौसममा माहुरी चराएर आयआर्जन गरिरहेका डिलाशैनी ६ का अनिल विष्टले बताउनुभयो ।
दशरथचन्द नगरपालिका र दोगडा केदारका, श्रीकोट, न्वाली, सित्तड, रिम र डिलाशैनीका गोकुलेश्वर, रुद्रेश्वर, सिगासका ढुङ्गाड, गाजरी लगायतका गाउँक्षेत्रमा पर्याप्त मात्रामा चिउरी उत्पादन हुने गरेको विष्टले बताउनुभयो । सिगासको ढुङ्गाड क्षेत्रमा मात्रै वार्षिक दुई टन बढी चिउरी घ्यू उत्पादन हुने भएपनि पेल्ने मिल नहुदा समस्या भएको ढुङ्गाडका स्थानीय राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
चिउरीको गुड र घ्यू स्वाथ्यका लागि फाइदाजनक भएकाले यसको माग जिल्ला बाहिर समेतबाट पनि हुने पाटन बजारका ठुला व्यापारी मान सिंह ऐरीले बताउनुभयो । ग्याष्ट्रिक लगायतका अन्य बिरामीले खान मिल्ने चिउरीको तेल कैलाली, कञ्चनपुर लगायत भारतीय सीमा बजार जुलाघाट पिथौरगढमा समेत ठुलो माग रहेको व्यापारी ऐरीले बताउनुभयो । घ्यू बनाउँदा बचेको पिना किटनाषक औषधीका रूपमा गाउमै बेचिने गरेकोले चिउरीबाट दोहरो फाइदा लिन सकिने कृषकहरू बताउँछन् ।
सुदूरपश्चिमै बढी चिउरी उत्पादन हुने बैतडीमा चिउरीको व्यावसायिक खेतीका लागि पटकपटक कृषि ज्ञानकेन्द्रसँग माग गरे पनि कुनै सहयोग हुन नसकेको दोगडा केदारका ५ का कमलापति भट्टले बताउनुभयो । चिउरीबाट उत्पादन हुने घ्यू र गुड स्वास्थ्यलाई लाभदायक रहेको कृषिज्ञान केन्द्र बैतडीका कृषि प्राविधिक महेश पाण्डेले बताउनुभयो ।
चिउरीको कुनै पनि भाग खेर नजाने, वातावरण सन्तुलनमा फाइदा पुग्ने र घ्यू तथा तेलबाट आर्थिक लाभ प्रशस्त लिन सकिने भएपनि कार्यक्रम अभावमा चिउरी खेतीतर्फ लगानी गर्न नसकिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।