साधन घर्ती
म्याग्दी (दरबाङ) ,वैशाख ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८,बन्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर प्रवर्धक रहेको ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६, कुमरगढीका २७ वर्षीय चौधरी कामबाट फर्किने क्रममा अचानक बेहोस भई ढल्नुभएको थियो ।
उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।
मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार, सिविएम डब्लुई कम्पनीमार्फत हरिओम आयोजनामा जोडिनुभएको थियो । मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो ।
यसैबिच कम्पनीले ७ महिनासम्म कार्यरत चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारबाहीको माग गरेका छन् ।
कम्पनीको लापवाहीका कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाइ नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले अडान लिएका छन् । हरिओमको शव अहिले बेनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
मृतक चौधरीका घरमा बुवाआमा, एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । म्याग्दीमा निर्माणाधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागि समेत आनकानी गर्ने गरेका छन् । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।