• ९ वैशाख २०८२, मङ्गलबार

‘गणतन्त्र संस्थागत गर्न रासस फोटो पुस्तक उपयोगी’

blog

काठमाडौँ, वैशाख ९ गते  । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

ललितपुरको भैँसेपाटीस्थित निवासमा सोमबार राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रथम राष्ट्रपति डा. यादवले गणतन्त्र स्थापनापछि केही भएन भन्नेका लागि तस्बिर सङ्गृहीत पुस्तक गतिलो जवाफ भएको बताउनुभयो ।  

उहाँले गणतन्त्रपछिको पछिल्लो अवधिमा ‘मुलुकमा विकासनिर्माणको अवस्था कस्तो छ, प्रगति के भए, सांस्कृतिक पक्ष कुन अवस्थामा छ र ती सम्पादको संरक्षण र निरन्तरता’ लगायतका विषयवस्तु समेटेर तयार गरिएको फोटो पुस्तक अत्यन्त उपयोगी भएको धारणा व्यक्त गर्नुभयो । डा. यादवले भन्नुभयो, “राससले प्रकाशन गरेको फोटो पुस्तक आफैँमा महत्वपूर्ण छ, पुस्तकले केवल तस्बिर, संस्कृति र विकासनिर्माणका बारेमा मात्र बोल्दैन, नयाँ र पुराना पुस्तालाई जोड्ने काम पनि गरेको छ । अहिलेको नयाँ पुस्तालाई इतिहासका विभिन्न कालखण्डको रीतिरिवाज, चालचलन र विकास निर्माणसँग सम्बन्धित गतिविधिसमेत जानकारी गराउन यो पुस्तक अत्यन्त महत्वपूर्ण दस्ताबेजका रूपमा स्थापित हुने छ ।”

फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र प्राप्तिपछिको उपलब्धिसहित विकास निर्माणको झलक दिने फोटो पुस्तक गणतन्त्रको संस्थागत विकासका पक्षमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

 गणतन्त्र दिवसको उपलक्ष्यमा राससद्वारा गत दुई वर्षमा आयोजित प्रदर्शनीमा राखिएका तस्बिरलाई समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले यसअघि जस्तै कुनै एक विषयमा केन्द्रित भई तस्बिर प्रदर्शनी जस्तो रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । यसै गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निवासमा पुस्तक ग्रहण गर्दै अध्यक्ष दाहालले पुस्तकका माध्यमबाट गणतन्त्रपछिका उपलब्धि र विकासनिर्माणका कामलाई जनमानसमा बुझाउन उपयोगी हुने बताउनुभयो ।

अध्यक्ष दाहालले राससले पछिल्लो समयमा गणतन्त्रलाई सहयोग पुग्ने महत्वपूर्ण काम गरेको र त्यसको उदाहरणका रूपमा यो फोटो पुस्तकलाई लिन सकिने धारणा राख्नुभयो ।  पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधि समेटेर ९० जना फोटो पत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् ।