• ७ वैशाख २०८२, आइतबार

ललितकला मेला सम्पन्न

blog

शिवा तामाङ

काठमाडौँ, वैशाख ७ गते ।  सेतो धोती, कमिज र खराउमा सजिएर कलाकार मिट्ठु थारू राजधानीमा थारू कला संस्कृतिको प्रवर्धनका लागि खटिएको धेरैले मन पराए । कलाकार थारूको मौलिक पहिरन र खराउको टकटक आवाजलाई धेरैले नियालेरै हेरे । उहाँ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १६ औँ स्थापना दिवस तथा नयाँ वर्ष २०८२ को सन्दर्भमा राजधानीमा आयोजित ‘राष्ट्रिय ललितकला मेला २०८२’ मा सहभागिता जनाउन कैलाली जिल्लाको जानकी गाउँपालिका–३, भगतपुरलाई नेतृत्व गर्दै आउनुभएको हो । उहाँले थारू समुदायको पहिचानसँग जोडिएका मूर्ति, चित्रकला स्टलमा सजाउँदै कैलालीको जानकी गाउँपालिकालाई “थारू लोककलाको हब” बनाउने लक्ष्य लिएको बताउनुभयो ।  

प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको कला मेलामा टेरो कार्ड रिडर सञ्चारकर्मी सङ्गीता श्रेष्ठको स्टलमा पनि मानिस आफ्नो वर्तमान र भविष्य देखाउन झुम्मिए । कलाकारले काठ, धातु, माटोबाट विविध कलात्मक सामग्री पनि स्टलमै तयार गर्दथे भने ट्याटुकलाको पनि स्टल राखिएको थियो । 

ललितकला मेलामा जलरङ्गकर्मी, धातु, माटोका विविध कलाकृति, थाङ्का, पौभालगायत जनजीवन, धर्म/दर्शन, अध्यात्म, हिमालदेखि तराई भेगसम्मका विविध सन्देशमूलक चित्रकला प्रदर्शनीमा राखिएको थियो भने चित्रकला, मूर्तिकलाको दर्शन बुझाउने पुस्तक, क्याटलग, चित्रकलाका लागि आवश्यक सामग्री, ढाकाका कपडा, हड्डी, धातु, उनका गरगहना, बाँसका सामग्री प्रदर्शनमा राखिएका थिए । मङ्गलबारदेखि सुरु भएको पाँचदिने ललितकला मेलामा ‘कविताको रङ’ कार्यक्रममा श्रवण मुकारुङ, बाबु त्रिपाठी, केशव सिलवाल, शकुन्तला जोशी, प्रज्वल अधिकारी, रिमा केसी, लक्ष्मी रुम्बा, स्वप्निल स्मृति, रसिक राज भूमिका थारूले कविता वाचन गर्नुभएको थियो । कलाकार अशोक शिवाकोटीले ‘कालो चस्मा’ एकाङ्की नाटक प्रस्तुत गर्दै सञ्चारकर्मीले कलाकारको मर्म बुझेर सकारात्मक कुरालाई प्रोत्साहन गर्नुपर्ने सन्देश दिनुभयो । 

प्राज्ञ चन्द्रकुमार राईको संयोजनमा ‘ब्यानर लेखन प्रतियोगिता’ को आयोजना गरिएको थियो । यसमा किशोर चौधरी, घनश्याम चौधरी, मोतीलाल राई, अन्दिलाल सरदार, राधेश्याम चौधरी, हरिकृष्ण चौधरी, कालिन्द्र प्र. चौधरी, विक्रम चौधरी, विर्जु चौधरी, रमेशकुमार चौधरी, कृष्ण मण्डल, उमेश साह तेली, सन्तोष विसी, डम्फे तामाङ, रामकृष्ण चौधरीलगायत कलाकारले सहभागिता जनाउनुभयो । 

बिन्दु स्पेस फर आर्टिस्टसँगको सहकार्यमा प्रफमेन्स आर्टको प्रस्तुति गरिएको हो । ललितकला विषयमा अध्ययनरत छात्र/छात्राको साङ्गीतिक प्रस्तुति चित्रकला कार्यशाला, काष्ठ–मूर्तिकला कार्यशाला, बालचित्रकला कार्यशालाको पनि आयोजना गरिएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको मेला शनिबार सम्पन्न भएको हो ।