जनार्जन खत्री
सर्लाही, फागुन ३० गते । सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा शुक्रबार साँझ स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । शुक्रबार साँझ ७ बजेतिर बरहथवाबाट सीमातर्फ गइरहेको डिएल ९ सिजेड ०७७७ नम्रको स्कारपियोले ठक्कर दिँदा बरहथवा नगरपालिका–९, बस्ने ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा एक जना पैदलयात्रीलाई ठक्कर दिएर भागेको स्कारपियोलाई रोक्न खोज्दा अन्य व्यक्तिहरुलाई समेत ठक्कर दिँदै भाग्ने क्रममा धेरै मानिस घाइते भएका इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले गोरखापत्र अनलाइनसँग बताउनुभयो ।
डिएसपी भट्टराईका अनुसार स्कारपियो र चालक बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । स्कारपियोको ठक्करबाट घाइते हुनेहरु विवाहमा जन्ती आएका मानिस र गाउँले रहेका छन् ।
घाइतेहरुमा रौतहट दोस्तिया पिपरियाका ७० वर्षीय कमल पटेल, रौतहट गढिमाई नगरपालिका ११ की ४५ वर्षीया बन्धना पटेल, बरहथवा १० का १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलिप राय, बरहथवा ७ का २३ वर्षीय चन्दन पासवान, बरहथवा १० की १२ वर्षीया दिपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत र ५५ वर्षीय रामनारायण ठाकुर रहेका छन् ।
घाइतेहरुको अहिले बिहानसम्म बरहथवाका विभिन्न अस्पतालमा उपचार चलिरहेको डिएसपी भट्टराईले बताउनुभयो ।