• ३० फागुन २०८२, शनिबार

‘जनताले मत दिए, हामी सुशासन दिन्छौँ’

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ३० गते । गण्डकी प्रदेशभरिका १८ वटा निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकी रास्वपा उम्मेदवार बिना गुरुङ प्रदेशकै प्रत्यक्षतर्फ निर्वाचित एक मात्र महिला सांसद बन्नुभएको छ । 

रास्वपा कास्की कोषाध्यक्षसमेत रहनुभएकी गुरुङको जन्मस्थान महाशिला गाउँपालिका–५, पर्वत हो । अहिले परिवारसहित पोखरा महानगरपालिका–५ मा बस्नु हुने उहाँ पोखरा महानगरको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडसहित अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा पर्ने क्षेत्र नम्बर ३ बाट भारी मतसहित चुनिनुभएको हो । 

अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धनलाई हराउँदै नेकपा (एमाले) ले जितेको यो क्षेत्रमा उहाँले निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २४ हजार ९७० मतान्तरले पछि पार्नुभयो । ३७ हजार ७५० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका गुरुङले १२ हजार ७८० मत पाउनुभयो । मत माग्न घरदैलोमा जाँदा जनताले दिएका सुझाव नै आफ्ना मुख्य एजेन्डा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुशासन, नीतिगत सुधारसहित जनताले घरदैलोमा दिएका सुझाव, मार्गदर्शन अनुसार अघि बढ्छौँ ।  जेनजी आन्दोलनको मर्मसहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा भूमिका निर्वाह गर्छु ।”

महिला उद्यमशीलता, स्थानीय उत्पादनको बजारीकरणसहित समाज सेवामा सक्रिय उहाँ पहिलो प्रयासमै प्रतिनिधि सभा सदस्य चुनिनुभएको हो । सञ्जीवनी दिदीबहिनी केन्द्र नेपाल नामको गैरसरकारी संस्था स्थापना गरी त्यसको नेतृत्वसमेत गर्नुभएकी उहाँ २०७२ सालको भूकम्प र कोभिड महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री पु¥याउन दत्तचित्त हुनुहुन्थ्यो । 

प्रतिनिधि सभा सदस्य गुरुङ पञ्चासे केबुलकार परियोजनाको सञ्चालक समिति सदस्यसमेत हुनुहुन्छ । रास्वपाकी संसद् उहाँ महिला सशक्तीकरण, सामाजिक विकास र सुशासनका लागि योगदान गर्ने वाचा गर्नुहुन्छ । उहाँले भन्नुभयो, “जनताले हामीलाई ठुलो भरोसा गर्नुभएको छ । नतिजा नदेखाएसम्म विजयको खुसी मनाउनुको खास अर्थ छैन । मैले टिकट पाउँदा नै भनेकी थिएँ, जबसम्म काम गरेर देखाउन सक्दिनँ, तबसम्म कुनै पनि बधाई र सम्मान लिने छैन ।” 

प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएकी ५३ वर्षीय गुरुङ जनताले खोजेको परिवर्तन यही कार्यकालमा सम्भव हुने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनताले मतमार्फत परिवर्तनको माग गरेका छन् । हामी विकास र सुशासनमार्फत उहाँहरूलाई धन्यवाद ज्ञापन गर्छाैं ।” फेवाताल, लेकसाइड, पञ्चासे, अन्नपूर्ण बेस क्याम्प जस्ता पर्यटकीय क्षेत्र रहेको कास्की–३ लाई नमुना बनाउने गरी काम गर्ने उहाँको प्रतिबद्धता छ ।