• २१ वैशाख २०८१, शुक्रबार

एपको अनुमतिपत्रलाई आंशिक अनुमति

blog

काठमाडौँ, कात्तिक १४ गते । सवारी चालकले चालक अनुमतिपत्र साथमा राख्नुपर्ने समस्या आंशिक रूपमा समाधान भएको छ । चालकले ट्राफिक नियम अनुसार सवारी चलाएको अवस्थासम्म चालक अनुमतिपत्र साथमा बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । 

‘स्मार्ट गभर्नेन्सको नयाँ यात्रा’ नाम दिइएको यस प्रावधान अनुसार चालक अनुमतिपत्र साथमा नबोके पनि अब ट्राफिक प्रहरीले जाँचका क्रममा जरिबाना तिराउने छैन । तर यसका लागि चालकले चालक अनुमतिपत्रको विवरण नागरिक एपमा राख्नु पर्छ । नागरिक एपमा राखिएको विवरणले मान्यता पाउने छ । यो प्रावधान कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले मुलुकभरिका ट्राफिक कार्यालयलाई परिपत्र गरिसकेको छ ।

अहिले जाँचका क्रममा चालकले सक्कलै चालक अनुमतिपत्र देखाएपछि मात्र छाड्ने गरेको छ । चालक अनुमतिपत्र साथमा नभएको अवस्थामा अहिले ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म जरिबाना तिराउँदै आएको छ ।

नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको नागरिक एपको फेसबुक पृष्ठमा उल्लेख छ ।

एपको पृष्ठमा भनिएको छ, “नेपाली नागरिकले चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा ल्याइएको छ । नागरिक एपमा तपाईंको सवारी चालक अनुमतिपत्र लिङ्क भएको छैन भने लिङ्क गर्न सक्नुहुने छ ।”

सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रीपरिषद्को निर्णय अनुसार नागरिक एपमा चालकले अन्तरआबद्ध गरेको सवारी चालक अनुमतिपत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । तर चालकले ट्राफिक नियमको उलङ्घन गरेको अवस्थामा जरिबाना तिर्न चालक अनुमतिपत्रको ‘हार्ड’ प्रति नै चाहिन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भन्नुभयो, “सम्बन्धित चालकले चालक अनुमतिपत्र प्राप्त गरेको छ/छैन भन्ने चेकजाँचको लागि नागरिक एपमार्फत नै ‘लाइसेन्स’ देखाए हुन्छ तर नियम उल्लङ्घन गरेको अवस्थामा ट्राफिक कारबाही र जरिबानाका क्रममा एपबाट ‘लाइसेन्स’ देखाएर हुँदैन । त्यसका लागि ‘फिजिकल लाइसेन्स’ नै चाहिन्छ ।”

ट्राफिक प्रहरीको कारबाही र जरिबानालाई नागरिक एपसँग जोड्न नेपाल प्रहरी र राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकले अहिले काम गरिरहेको जानकारीसमेत उहाँले दिनुभयो । उहाँका अनुसार जरिबाना पनि नागरिक एपबाट तिर्ने गरी अहिले नयाँ प्रणालीको विकास गर्न लागिएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले सवारी चालकले चालक अनुमतिपत्र तथा सवारी साधनसम्बन्धी सम्पूर्ण कागजपत्र सँगै बोक्नुपर्ने भएकाले नागरिक एपमा व्यवस्था गरिए पनि चालक अनुमतिपत्रको ‘हार्ड’ प्रति सँगै राख्न सबैसँग आग्रह गर्नुभयो ।