• २२ वैशाख २०८१, शनिबार

विवादले स्थापित पाण्डे

blog

काठमाडौँ, कात्तिक ११ गते । स्याङ्जामा जन्मिनुभएका गीतकार दयाराम पाण्डेको गीतका शब्दमा कतै गहनता, कतै सरलता पाइन्छ । बाल्यकालदेखि नै गीतसङ्गीतमा रुचि  राख्ने पाण्डेको गीत लेखनको यात्रा चलचित्र ‘मुस्कान’ बाट सुरु भएको हो । त्यसपछि उहाँले थुप्रै चलचित्रमा मायाप्रेम, बिछोड र आइटमका गीत लेखिसक्नुभएको छ । पाण्डेका अहिले पनि थुप्रै गीत उत्तिकै चर्चित छन् । उहाँका पुराना गीतको तुलनामा अहिलेका गीतमा गुणस्तर खस्किएको बताउनुहुन्छ । उहाँले लेखेका गीतमध्ये ७० प्रतिशतभन्दा बढी गीत कोठामाभन्दा पनि अरू व्यक्तिसँगको बसाइमा तयार हुने गरेको छ । उहाँ भन्नुहुन्छ, “मुड आएरभन्दा पनि मुड बनाएर गीत लेखेका कारण मेरो गीतमा विविधता पाइन्छ ।”

सुरु सुरुमा चलचित्रमा गीत रेकर्ड गर्न कठिन भए पनि चलत्रिच ‘ख्यालख्यालैमा’ को गीत राम्रो चलेपछि उहाँले कहिल्यै पछाडि फर्केर हेर्न परेन । चलचित्रको ‘हमसे पुछोना बाबा’  गीतले केही विवाद सिर्जना पनि ग¥यो । त्यही विवादले गीतकारका रूपमा स्थापित गराउन सहयोग पुगेको पाण्डेको भनाइ छ । चलचित्र ‘मुस्कान’ का लागि पहिलो पटक शब्द लेख्नुभएका पाण्डेको गीतलाई सङ्गीतकार शम्भुजित बास्कोटाले आफ्नै सङ्गीतमा गाउनुभएको थियो । पीडाले भरिएको उक्त गीत खासै चल्न भने सकेन । त्यसपछि उहाँले चलचित्र ‘मनमन्दिरमा’ का लागि गीत लेख्नुभयो । यो गीत पनि खासै चलेन । 

गीत अभिव्यक्तिको माध्यम भएको बताउने पाण्डेले लेख्नुभएका चलचित्रका केही आइटम गीतले निकै चर्चा पनि पाएका छन् । ‘ओए ओए ओए ओए करेन्ट लाग्छ मलाई छोए,’ ‘कुन लोककी परी हौ तिमी,’ ‘एउटा फूल के मागुँ यो धर्तीसँग तिम्रा लागि,’ ‘हजुरबाले भने थिए औँला काटी गने थिएँ,’ ‘ढल्क्यो ढल्क्यो,’ ‘काली तिम्रो नजरले गोली मा¥यो’ उहाँले लेख्नुभएका चलेका गीतहरू हुन् । 

उहाँ भन्नुहुन्छ, “पहिला चलचित्रका लागि गीत लेखनमा आत्मीयता बढी थियो । एउटै परिवार जस्तो भएर काम गरिन्थ्यो तर अहिले त्यो अवस्था छैन । अहिले व्यावसायिकता धेरै छ । केबल केही समय चल्ने टिकटके गीत बन्न थालेका छन् ।” यद्यपि गीत लेखेर नै आफ्नो गुजारा राम्रैसँग चल्न सक्नेमा उहाँ ढुक्क हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले आजसम्म जे कमाएको छु, त्यो गीत लेखनबाट नै हो ।”