• १४ फागुन २०८०, सोमबार

लम्पी स्किनका कारण ७४ अर्ब क्षति

blog

काठमाडौँ, असोज ३० गते । मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ। 

सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशु धनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठुलो क्षति किसानले बेहोरोका छन् । यसका तत्कालीन र दीर्घकालीन असर रहे पनि तत्कालका लागि कुल गार्हस्थ उत्पादनमा भने खासै फरक नपार्ने देखिएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले पशुमा लम्पीको सङ्क्रमणकै कारणले दुध उत्पादन, जैविक मल उत्पादन, पशुलाई खनजोत र ढुवानीमा प्रयोग गर्ने अवस्था मात्रै कुल गार्हस्थ उत्पादनसँग जोडिने भएकाले यसले तत्कालै ठुलो असर नपार्ने बताउनुभयो । “तर कृषि र पशुपालनले कुल गार्हस्थ उत्पादनमा ठुलो योगदान पु¥याउने भएकाले यसले दीर्घकालीन रूपमा समस्या निम्त्याउन सक्नेतर्फ सचेत रहनु पर्छ,” उहाँले भन्नुभयो। 

उहाँले अहिले उत्पादनमा आउने असर मात्रै देखिए पनि मरेका पशुको सट्टामा नयाँ पशु खरिद गर्न, उपचार, पोषणमा लाग्ने खर्चले कुल आयमा भने असर पार्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले कुल गार्हस्थ उत्पादनमा कृषि र पशुको २३ प्रतिशत योगदान रहेको र त्यसमा पशु मात्रैको योगदान छ प्रतिशत रहेको सन्दर्भमा पशुको क्षेत्रबाट भएको आर्थिक क्षतिले गरिब किसानलाई झन् गरिब बनाउने दाबी गर्नुभयो । यद्यपि यो वर्षकै गार्हस्थ उत्पादनमा खासै अन्तर नहुने उहाँले स्पष्ट पार्नुभयो । 

सरकारी संरचनासँग लम्पी स्किनको वास्तविक तथ्याङ्कको अभाव छ । पशु सेवाका क्षेत्रमा तल्लो तहसम्म नियमित रिपोर्टिङ हुने संरचना नरहेपछि यो क्षेत्रबाट समयमै तथ्याङ्क आउन नसकेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले स्विकार्नुभयो । यसको बृहत् अनुसन्धान आवश्यकता देखेर पशु सेवा विभागको अगुवाइमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), पशु चिकित्सा परिषद् मिलेर लम्पी स्किनले पारेको आर्थिक, सामाजिक र सांस्कृतिक क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोज शाहीले अगामी वर्ष पनि लम्पीको जोखिम रहेकाले विभागको अगुवाइमा बृहत् अनुसन्धान सुरु भएको जानकारी दिँदै अध्ययनपछि त्यसको विस्तृत प्रतिवेदनसमेत तयार पारिने बताउनुभयो । 

उहाँले लम्पी स्किन सङ्क्रमणले पारेको तत्कालीन असर मात्रै देखिएको र यसको दीर्घकालीन असरको खोजमा सङ्घीय, प्रदेश र स्थानीय तहले ध्यान पु¥याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सहरको रकम ग्रामीण किसानको घरसम्म पुग्ने भरपर्दाे स्रोत नै दुध र मासु भएकाले यसमा सबै क्षेत्र उत्तिकै जिम्मेवार बन्नु आवश्यक रहेको औँल्याउनुभयो । 

पशु स्वास्थ्यको क्षेत्रमा क्रियाशील रहनुभएको पशु चिकित्सक मणि सापकोटाले लम्पी स्किन सङ्क्रमित पशुबाट दुध र मासु उत्पादनमा ह्रास आउने र पशुमा प्रजनन समस्या देखिने बताउनुभयो । उहाँले लम्पीबाट निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्ने हुँदा गरिब किसानका लागि चुनौती थपिएको बताउनुभयो । 

खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले पनि पशु चिकित्सा परिषद्ले आँकलन गरेको क्षतिको विवरणका आधारमा सो क्षेत्रमा काम गर्ने हिसाबले योजना बनाइरहेको डा. सुरेश कार्कीले बताउनुभयो । उहाँले यसका असर समेटेर केही गर्न सकिन्छ कि भनेर योजना बनाइरहेको उल्लेख गर्नुभयो । 

एसियाली विकास बैङ्कले पनि यो वर्ष तराई र मधेशमा राम्रोसँग वर्षा हुन नसक्नु र लम्पी स्किनले पशु धनमा क्षति पारेकाले चालु आर्थिक वर्ष २०८०/८१ मा अनुमान गरे अनुसारको आर्थिक वृद्धिदर नहुने प्रक्षेपण गरेको छ । लम्पी स्किनको कारणले एक खर्ब २८ अर्ब रुपियाँको क्षति हुने अनुमान गरिएकोमा ७४ अर्ब रुपियाँ बराबरको क्षति भइसकेको छ । लम्पी स्किनको जोखिम भने अझै पनि कायमै रहेको पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो । नेपालमा अझै पनि ७३ हजार ६३६ पशुमा लम्पीका जीवाणु सक्रिय छन् । लम्पीको कारणले हालसम्म ५२ हजार ५४८ पशु मरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा फैलिँदा यसको क्षति दर धेरै थिएन । त्यसरी नै आर्थिक वर्ष २०७८/७९ मा नौ जिल्लाका ११ पालिकामा देखियो । त्यस्तै गरी आर्थिक वर्ष २०७९/८० सकिँदा ७७ जिल्लाका ५४२ पालिकामा यो सङ्क्रमण फैलिएकोमा मनाङ र मुस्ताङमा नियन्त्रणमा आइसकेको छ ।